शनिवार, पौष २६, २०८२
Sancharmanch

बाल्मिकिमा उर्जाशील रामधुनी आमा समूहद्वारा लागुऔषध न्यूनिकरण सम्बन्धी सशक्त नाटक प्रदर्शन

Posted by:
शुक्रवार, पौष २५, २०८२
झापा/ झापाको विर्तामोडमा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले लागुऔषध दुव्र्यसन न्यूनिकरण सम्बन्धी सन्देशमूलक नाटक प्रदर्शन गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । शुक्रबार विर्तामोडमा सञ्चालित बाल्मिकि एजुकेशन फाउण्डेशनको सभाहलमा आयोजित उक्त नाटकले विशेषगरी बालबालिका र अभिभावकलाई लक्षित गर्दै लागुऔषधको लतले पार्ने गम्भीर सामाजिक, पारिवारिक र व्यक्तिगत असरहरूलाई जीवन्त ढंगले प्रस्तुत गरेको थियो । लागुऔषधको प्रयोग पछिल्ला १० वर्ष यता किशोर–किशोरी र युवापुस्तामाझ बढ्दो चिन्ताको विषय बन्दै गएको सन्दर्भमा उर्जाशील रामधुनी आमा समूहले नाटकलाई जनचेतनामूलक अभियानको माध्यम बनाएको छ । समूहका अनुसार नाटकको मुख्य उद्देश्य समाजमा मौलाउँदै गएको लागुऔषध दुव्र्यसनको जोखिमबारे सचेत गराउनु, बालबालिकालाई सही बाटोमा डोर्याउन अभिभावकको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने विषय उजागर तथा सामूहिक प्रयासबाट मात्र यस्तो समस्याको समाधान सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । बाल्मिकि एजुकेशन फाउण्डेशनमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नाटकमार्फत अभिभावकले आफ्ना सन्तानलाई पर्याप्त समय दिन नसक्दा बालबालिका गलत संगत र विभिन्न लततर्फ आकर्षित हुन सक्ने संकेत गरिएको थियो । मोबाइल, इन्टरनेट, साथीसंगीको प्रभाव र पारिवारिक संवादको कमीले बालबालिकालाई कसरी जोखिमपूर्ण बाटोमा धकेल्छ भन्ने यथार्थपरक दृश्यहरूले नाटकको चरमोत्कर्ष निर्धारण गरेको थियो । कार्यक्रम स्वागत नृत्यबाट सुरु गरिएको थियो, जसले सभाहलको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । त्यसपछि प्रस्तुत गरिएको नाटकले हाँसो, भावुकता र गम्भीर सन्देशलाई एकैसाथ समेट्दै दर्शकको ध्यान केन्द्रित गर्न सफल भयो । नाटकको अन्त्यमा पुनः नृत्य प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको थियो, जसले कलाकारहरूको सिर्जनशीलता र प्रस्तुति कौशललाई थप उजागर गरेको थियो । नाटकमा उर्जाशील रामधुनी आमा समूहका सदस्यहरू मिनु शिवाकोटी, रश्मिला लम्साल (खतिवडा), रिता शिवाकोटी (न्यौपाने),रिता निरौला खरेल,   बिनिता अधिकारी, लक्ष्मी शिवाकोटी (कार्की), कला थापा, सुस्मा शिवाकोटी, शान्ति मैनाली, स्मृति थापा र सरिता थपलिया (शिवाकोटी) ले सशक्त अभिनय प्रस्तुत गर्नुभएको थियो । सबै कलाकारले आ–आफ्ना भूमिकालाई स्वाभाविक र प्रभावकारी ढंगले निभाउँदै दर्शकबाट प्रशंसा बटुल्न सफल भएको देखियो । नाटकको लेखन तथा निर्देशन संस्थाकी अध्यक्ष गंगा शिवाकोटी (ढकाल) ले गर्नुभएको थियो । उहाँले समाजका यथार्थ समस्या समेटेर तयार पारिएको कथावस्तु र निर्देशनमार्फत आमा समूह पनि सामाजिक परिवर्तनको सशक्त माध्यम बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको सहभागीहरूले बताएका छन् । संस्थाकी कार्यसमिति सदस्य सरिता थपलिया (शिवाकोटी)को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई कार्यसमिति सदस्य रश्मिला लम्साल (खतिवडा) ले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी अध्यक्ष गंगा शिवाकोटी ढकाल (मेगा) ले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई संस्थाका सदस्य पुष्पा सुवेदी र दीपा प्रसाईंले खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले नाटक अत्यन्तै सान्दर्भिक, शिक्षाप्रद र समयसापेक्ष रहेको प्रतिक्रिया दिनुभएको छ । सहभागि दर्शकहरुको प्रतिकृया अनुसार यस्ता जनचेतनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । कार्यक्रमकै अवसर पारेर बाल्मिकिमा अध्ययनरत ३ जना विद्यार्थिलाई आर्थिक सहयोग सहित सम्मान गरिएको थियो । उर्जाशील रामधुनी आमा समूहले आगामी दिनमा पनि सामाजिक विकृति, महिला सशक्तिकरण, बालअधिकार र सकारात्मक सोच प्रवद्र्धन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिने जानकारि दिएको छ । स्थानीय स्तरबाट सुरु भएको यस्तो अभियानले समाजलाई सही दिशातर्फ डो¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।  
सम्बन्धित खबर