शुक्रवार, पौष २५, २०८२
Sancharmanch

झापाको मालपोत कार्यालयः जहाँ मोही आफैँ उम्रन्छन्, जग्गाधनीलाई थाहै हुँदैन

Posted by:
बिहिवार, पौष २४, २०८२
झापा / खेतीपाती गर्ने मोही पाउन मुस्किल पर्दै गएको यो समयमा झापाको जिल्ला मालपोत कार्यालय भने मोही उत्पादनको आधुनिक केन्द्र बनेको छ । खेतबारीमा पसिना बगाउन नपर्ने, गोरु जोत्न नजान्ने तर ढड्डा पल्टाउन जान्ने जो कोही पनि यहाँ मोही बन्न सक्ने व्यवस्था मिलाइएको छ । यो उपलब्धिले कृषि क्षेत्र होइन, कागजी खेतीलाई नयाँ उचाइमा पुर्याएको छ । २०४० साल यता पटक–पटक कित्ताकाट, नामसारी, विक्री, अंशबन्डा पास हुँदै नयाँ–नयाँ धनिपूर्जा जारी भए । तर ती धनिपूर्जामा एउटा रोचक कुरा समान देखिन्छ—जहाँ “मोहीको विवरण” लेखिनुपर्ने महल छ, त्यहाँ शून्यताको दर्शन । खाली महल, तर भरिएको खेल । धनिपूर्जामा मोही छैन, तर मालपोत कार्यालयको ढड्डामा भने मोही बाक्लै भेटिन्छन् । ढड्डा र धनिपूर्जाबीचको यो रहस्यमय सम्बन्धले भौतिकशास्त्रलाई पनि लज्जित बनाएको छ । झनै रमाइलो त के भने, कतिपय जग्गाधनीलाई आफ्नै जग्गामा मोही रहेको कुरा फैसला आएपछि मात्र थाहा हुन्छ । न सूचना, न चिठी, न फोन । मालपोत कार्यालयको “सप्राइज प्याकेज” अन्तर्गत गुपचुप रूपमा मोही कायम गराइन्छ, फाइल तयार हुन्छ, मुद्दा दर्ता गरिन्छ र अन्ततः मोही जिताइन्छ । जग्गाधनी भने पछि मात्रै बुझ्छन् आफ्नो जग्गा मात्र होइन, अधिकार पनि कसैले कागजमै जोतेर लगिसकेको रहेछ । भूमिसुधार तथा मालपोत कार्यालय झापामा काज लिएर कार्यरत नायब सुब्बा एउटै जग्गामा पटक पटक मोही कायम भएको कुरा बाहिरिएपछि पौष १६ गते देखी कार्यालयमा जानकारीनै नगराई कार्यालयको सम्पर्क भन्दा बाहिर छन् । पिडितद भनिएका नागरिकहरु हरेक शब्दमा उनकै नाम पुकार्छन । पैसाको खेल मात्र हैन चलखेल हुने कमाउ अड्डाको ट्याग लागेको मालपोत कार्यालय झापालाई बदनाम गराउने नियत खराब भएका कर्मचारीलाई कानूनको दायरामा ल्याएर अनुसन्धान गर्ने नियामक निकायले चनाखो हुनुपर्ने अवस्था आएको छ । कानूनले मोही हकदावी आएपछि कार्यालयले जग्गाधनीलाई जानकारी गराएर पक्ष–विपक्षबीच मुद्दा बुझाउनुपर्ने व्यवस्था गरेको छ । तर झापामा कानून पनि स्थानीय चलनअनुसार परिमार्जन गरिएको देखिन्छ । यहाँ जानकारी दिनु पुरानो फेसन मानिन्छ । सिधै फैसला, सिधै परिणाम । नक्कली मोही खडा गरी आफूहरूलाई पिडित बनाइएको भन्दै केही जग्गाधनीले जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिए । चार दिनअघि सबै प्रक्रिया पूरा गरेर निवेदन बुझाइए पनि प्रहरी कार्यालयमा फाइल अलि लजालु देखिएको छ—दर्ता गर्नै हम्मे हम्मे भएको पिडितहरु बताउँछन् । लहरो तान्दा पहरो थर्किन्छ भनेझैँ एक पछि अर्को गर्दै पीडित सार्वजनिक हुँदैछन् । आँखामा पट्टि बाँधेर फाइलमा लुकाइएका मोहीहरु पट्टि खोलेर पैसाले गोजी भर्नै लाग्दा जग्गाधनीका कानमा आलाराम बज्यो, कानले आवाज पछ्याउँदै आउँदा मालपोतका ढड्डाहरुमा थुनिएका मोहिहरुको महाभोज जग्गाधनीलाई थाहा हुन्छ । यता नक्कली र सक्कली दुवै मोहिलाई हक दिलाइदिने भन्दै लाखौँ असुलेको आरोपमा विर्तामोड–८ का ३५ वर्षीय एक विचौलिया पक्राउ परेको खबर बाहिरिएपछि अर्को नाटक सुरु भएको छ । उनलाई छुटाउन राजनीतिक दबाव बढाइएको, पार्टीका शीर्ष नेताहरू झापामै बसेर सक्रिय लबिङ गरिरहेको जानकारहरू बताउँछन् । जनताको काम ढिला हुने, तर विचौलियाको काम छिटो हुने परम्परा यहाँ पनि कायमै छ । ढड्डामा नक्कली मोही खडा गरेर पिडामा पारिएका नागरिकलाई विभिन्न प्रलोभन देखाइ कानूनी सहायता लिन नदिन शक्तिकेन्द्रहरू सक्रिय छन् । सुरुमा “हामी पिडित हौँ” भनेर आउनेहरू पनि पछि बोल्न छाड्छन् । आखिर बोल्नु भनेको झन्झट हो, चुप लाग्नु नै सुरक्षित । यसरी झापाको मालपोत कार्यालय आज बिचौलिया र भूमि माफियाको साझा चौतारी बनेको छ । यहाँ मोही खेतमा होइन, फाइलमा फल्छ । पसिना होइन, पहुँच चाहिन्छ । र जग्गाधनीहरू? उनीहरू आफ्नै जमिनमा अतिथि भएर बसिरहेका छन् ।
सम्बन्धित खबर