झापा । बुद्धशान्ति गाउँपालिकाको आयोजनामा सम्पन्न बुद्धशान्ति गाउँपालिका दोस्रो अन्तर मावि स्तरीय त्–१० छात्र नकआउट क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली एजुकेसन फाउन्डेसनले हात पारेको छ ।

फाइनल खेलमा कर्णाली एजुकेसन फाउन्डेसनले ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयलाई २५ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भयो। उपाधिसँगै कर्णालीले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता ज्योति अङ्ग्रेजी माविले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

बुद्धशान्ति गाउँपालिकामा खेलकुद महोत्सव जत्तिकै आयोजनाहरु सञ्चालन गरिरहेको बताउँदै विभिन्न प्रतिभा उजागरका लागि काम गरिरहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा फाइनल खेलका म्यान अफ द म्याच कर्णाली एजुकेसन फाउन्डेसनका साजन गदाइली घोषित भए। उत्कृष्ट ब्याटर ज्योति अङ्ग्रेजी माविका बिलभ दाहाल, उत्कृष्ट बलर कर्णालीका रिकेश आङ्देम्बे र उत्कृष्ट विकेटकिपर गडिगाउँ माविका अनिश सुनुवार घोषित भए ।

उत्कृष्ट खेलाडी गदाइलीले १० हजार रुपैयाँ मूल्यको रेन्जर साइकल पुरस्कारसमेत प्राप्त गरे । बुद्धशान्ति गाउँपालिका झापाले विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जोङले बताउनुभयो ।

बुद्धशान्ति–३ मा रहेको पेट्रोल पम्प अगाडिको खेलमैदानमा सम्पन्न प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयले सहभागीता जनाएका थिए । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, खेलकुदप्रेमी र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालयस्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

खेलकुद विकास समितिका सदस्य सञ्जु पौडेलले स्वागत गर्नु भएको कार्यक्रम प्रतियोगिताका सम्योजक गोकुल पौडेलले सञ्चालन गर्नुभएको थियो ।