झापा / शिवसताक्षी नगरपालिका वडा नं. ६ मा रहेको एक सामुदायिक विद्यालयका विद्यार्थीहरू जाडो याममा न्यानो अनुभूति गर्ने अवसर पाएका छन्। वडा अध्यक्ष मनोज खुलाल कार्कीको पहल तथा चौतारी बचत तथा ऋण सहकारी संस्थाको लगानीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई निःशुल्क जुत्ता तथा मोजा वितरण गरिएको हो।

वडाभित्रको सामाजिक आधारभूत विद्यालयको प्राङ्गणमा बुधबार आयोजित विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई जुत्ता र मोजा वितरण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । जाडो मौसममा विपन्न समुदायका बालबालिकाले भोग्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरैजसो बालबालिका आर्थिक रूपमा कमजोर परिवारबाट आउने भएकाले उनीहरूको स्वास्थ्य र नियमित विद्यालय उपस्थितिमा यस किसिमका सहयोग कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो। “जाडो समयमा न्यानो कपडा, जुत्ता–मोजा नहुँदा बालबालिका बिरामी पर्ने, विद्यालय आउन हिच्किचाउने अवस्था देखिन्छ,” उहाँले भन्नुभयो, “त्यसैले बालबालिकाको सहज अध्ययन वातावरण निर्माण गर्न यो सानो तर महत्वपूर्ण सहयोग गरिएको हो।”

चौतारी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरी बालबालिकालाई जुत्ता–मोजा वितरण गरेर अनुकरणीय काम गरेको वडा अध्यक्ष कार्कीले प्रशंसा गर्नुभयो। सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नभई समाजप्रति उत्तरदायी बन्नु सकारात्मक सन्देश भएको उहाँको धारणा छ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले पनि कार्यक्रमको स्वागत गर्दै सहकारी र वडा अध्यक्षको पहलप्रति धन्यवाद व्यक्त गरेका छन्। विद्यालयका प्रधानाध्यापकले बालबालिकाको मनोबल उच्च बनाउन र विद्यालयप्रति आकर्षण बढाउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनुभयो। “विद्यार्थीहरू खुशी देखिनु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो।

कार्यक्रमबाट विशेषगरी विपन्न, दलित तथा श्रमिक परिवारका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विद्यार्थीहरू नयाँ जुत्ता र मोजा पाउँदा उत्साहित देखिएका थिए भने अभिभावकहरूले पनि यस्तो सहयोगले घरपरिवारको आर्थिक बोझ केही हदसम्म कम भएको प्रतिक्रिया दिएका छन्।

वडा अध्यक्ष कार्कीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षणका क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। स्थानीय तह, सहकारी संस्था र विद्यालयबीचको सहकार्यबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो। यस किसिमका कार्यक्रमले बालबालिकाको भविष्यप्रति समाजको साझा जिम्मेवारीलाई स्मरण गराउने मात्र होइन, स्थानीय तहमा सकारात्मक सामाजिक उदाहरण स्थापित गर्ने अपेक्षा गरिएको छ।










