शुक्रवार, पौष १८, २०८२
Sancharmanch

मोही हकदाबी मिलाइदिने नाममा संगठित ठगी, झापामा गिरोहका नाइके पक्राउ मालपोत कर्मचारी र जनप्रतिनिधिसमेत संलग्न भएको आशंका

Posted by:
शुक्रवार, पौष १८, २०८२
झापा / मोही हकदाबी मिलाइदिने भन्दै सक्कली र नक्कली मोही खडा गरी संगठित रूपमा ठगी गर्दै आएको गिरोहका मुख्य नाइकेलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापा जिल्लाका विभिन्न स्थानमा लामो समयदेखि सक्रिय उक्त गिरोहले मोही हकसम्बन्धी कानुनी जटिलतालाई हतियार बनाउँदै सर्वसाधारण नागरिकलाई पीडित बनाउँदै आएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्ने व्यक्ति बिर्तामोड नगरपालिका वडा नम्बर ८ किसान भिट्टा निवासी ३५ वर्षीय राजन खरेल हुन् । उनी नेकपा एमाले निकट युवा संघका कार्यकर्ता भएको खुलेको छ । खरेलले आफू राजनीतिक पहुँच र मालपोत कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै मोही हकदाबीका मुद्दा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्दै आएको पीडितहरूको आरोप छ । खरेलले झापाको मेचिनगर नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा रहेका मोही श्रेस्ता कायम भएका सक्कली मोहीहरूलाई प्रलोभनमा पारी घरायसी लेनदेनको कागज बनाउँदै रकम असुल्ने गरेको पाइएको छ । मोही हक सुनिश्चित गरिदिने, मुद्दा जिताइदिने वा जमिन सुरक्षित गरिदिने भन्दै उनले लाखौं रुपैयाँ उठाएको पीडितहरूको दाबी छ । त्यसैगरी, खरेलले नक्कली मोही खडा गरी मालपोत कार्यालयका केही कर्मचारीसँग साँठगाँठ गरेर जग्गाधनीलाई कानुनी झमेलामा पार्ने गरेको आरोप पनि बाहिर आएको छ । पुरानो मोही हकदाबी मिलान भइसकेका जमिनहरूमा पुनः मोही खडा गरी मुद्दा मामिला अघि बढाइ जग्गाधनीलाई बार्गेनिङमा ल्याइ आर्थिक असुली गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितहरूका अनुसार उक्त गिरोहको निशानामा विशेषगरी विपन्न वर्गका नागरिक परेका छन् । आर्थिक र कानुनी पहुँच कमजोर भएका सोझा सिदा व्यक्तिहरूलाई डर, दबाब र भ्रममा पारेर उनीहरूको सम्पत्तिमाथि गम्भीर खेलवाड गरिएको उनीहरूको गुनासो छ । खरेलले मोहिले पाएको चेक समेत जफत गरी रकम निकालेर लगेको आरोप लगाएकाछन् । उता खरेललाई प्रहरीले पक्राउ गरेको दोश्रो दिन नेकपा एमाले निकट नेता, कार्यकर्ता र जनप्रतिनिधी समेत छुटाउने मनासाय राखेर जिल्ला प्रहरी कार्यालय पुगे पनि पिडितको भिड देखेका कारण त्यहाँ बाट बाहिरिएको बुझिएको छ । मालपोत कार्यालय झापाका केही कर्मचारीले नक्कली मोही खडा गरेर खरेललाई विचौलियाको रूपमा प्रयोग गर्दै बार्गेनिङ गराउने गरेको तथ्य सार्वजनिक भएसँगै घटनाले झनै गम्भीर मोड लिएको छ । पीडितहरूले उक्त गिरोहमा जनप्रतिनिधिको समेत संलग्नता रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । एक जना मोहीलाई पटक–पटक खडा गरी ‘ब्रह्मलुट’ मच्चाउने मुख्य भूमिकामा रहेका मालपोत कार्यालयका एक कर्मचारी हाल विदामा बसेको स्रोतको दाबी छ । ती कर्मचारी र पक्राउ परेका राजन खरेलबीच पारिवारिक सम्बन्धसमेत रहेको भन्दै पीडितहरूले दुवै जनाको मिलेमतोमा यो ठगी धन्दा सञ्चालन हुँदै आएको आरोप लगाएका छन् । जग्गाधनीसँग रहेको जग्गाधनी पुर्जामा मोहीको कुनै विवरण नदेखिए पनि मालपोतको ढड्डामा पछि थपिएको मोही विवरण अदालतसम्म पु¥याइ आम नागरिकलाई पीडित बनाइएको भन्दै युवा नागरिक समाज अर्जुनधाराका अध्यक्ष सुजन सिवाकोटीले कडा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “कानुनी प्रक्रिया दुरुपयोग गरेर सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अत्यन्त निन्दनीय छ। यसमा संलग्न सबैलाई कारबाही हुनुपर्छ ।” प्रहरीले खरेलमाथि ठगी, कीर्ते कागजात तयार पार्ने, संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्ति, मालपोत कार्यालयका कर्मचारी तथा सम्भावित राजनीतिक संरक्षणबारे समेत छानबिन हुन जरुरी रहेको जानकारहरुको भनाई छ । स्थानीयवासी र पीडितहरूले मोही हकजस्तो संवेदनशील विषयमा यस्ता गिरोह सक्रिय हुनु गम्भीर चिन्ताको विषय भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । उनीहरूले दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिएका छन् । यो घटनाले झापामा भूमि प्रशासन प्रणालीभित्र रहेको कमजोरी, भ्रष्टाचार र राजनीतिक आडमा हुने संगठित अपराधलाई पुनः उजागर गरेको छ । निष्पक्ष अनुसन्धान र कडा कारबाही नभए यस्ता गिरोह अझै सक्रिय हुने खतरा रहेको सरोकारवालाहरूको चेतावनी छ ।
सम्बन्धित खबर