मङ्गलवार, पौष १५, २०८२
Sancharmanch

मातृस्मृतिमा सामाजिक सेवा: गोपाल गौरी दिगो विकास प्रतिष्ठानद्वारा ६२ बालबालिकालाई न्यानो कपडा

Posted by:
मङ्गलवार, पौष १५, २०८२

पुष्पलता अर्याल, मोरङ/ गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रले सौठा माध्यमिक विद्यालय, रतुवामाई नगरपालिका वडा नम्बर ६, मोरङमा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने ६२ जना विद्यार्थीलाई निःशुल्क पोषाक (न्यानो कपडा) वितरण गरेको छ ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानले अध्यक्ष इन्दिरा शर्माको योगदान तथा प्रतिष्ठानको आफ्नै लगानीमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानकी अध्यक्ष इन्दिरा शर्माले संस्थाको तर्फबाट अर्थात् आफ्नै लगानीमा थुप्रै सामाजिक गतिविधिहरू सञ्चालन हुँदै आएको बताउनुभयो ।

२०८२ पौष १४ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सुब्बा लिम्बुले स्वागत गर्नुभएको कार्यक्रम शिक्षक मानबहादुर खड्काले सञ्चालन गर्नुभएको थियो ।

सौठा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश गौतमले संस्थाले विद्यालयमा न्यानो कपडा वितरण गरेर पुण्यको काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

न्यानो कपडामा विद्यालय पोषाक ट्रयाकसुट र बिस्कुट वितरण गरिएको थियो ।

कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्माकी ममतामयी माता स्वर्गीय बुधमायाँ पोख्रेलको वार्षिक पुण्यतिथिको अवसर पारेर आयोजना गरिएको थियो ।

सौठा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सुब्बाले संस्थाले गरेको सहयोगले बालबालिकामा हौसला थपेको बताउनुभयो ।

कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रका उपाध्यक्ष खनिमायाँ श्रेष्ठ, कार्यसमिति सदस्य भगवती गुरागाईं, झापा उपसमितिका सदस्य सचिव दया फुयेल, आजीवन सदस्यहरू, स्वर्गीय माताका छोरा–छोरी आफन्त तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिष्ठानले सामाजिक विकासका क्षेत्रमा सीप विकासका कार्यक्रम, राहत वितरण, पोषाक वितरण, खाद्यान्न वितरण साथै घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरणलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खबर