झापा,कनकाई / सेडाइ बन्धु समाज अङ्गिरसको पाँचौँ वार्षिक साधारण सभा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । अङ्गिरसको आफ्नै भवन कनकाई नगरपालिका वडा नम्बर ४ स्थित सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

समाजको वार्षिक कार्यसम्पादनको समीक्षा, भावी कार्ययोजना, संगठन सुदृढीकरण तथा बन्धुत्व सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको साधारण सभामा देशभरका सेडाइ बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम सेडाइ बन्धु समाज अङ्गिरसका अध्यक्ष ओमभक्त सेडाइको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा तुलसीराम सेडाइको प्रमुख आतिथ्यता रहेको थियो भने पदमा देवी सेडाइ विशिष्ट अतिथिको रूपमा रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तुलसिराम सेडाइले सेडाइ समाजको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा समाजका उपाध्यक्ष खगेन्द्र सेडाइले स्वागत मन्तव्य राख्दै उपस्थित सबै अतिथि, बन्धु तथा सहभागीप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव निलकृष्ण सेडाइले गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा समाजका ज्येष्ठ आमा–बुबाहरूलाई विशेष सम्मान गरिएको थियो । जीवनको लामो अनुभव, समाजप्रतिको योगदान र बन्धुत्वलाई पुस्तान्तरण गर्दै आउनु भएका ज्येष्ठ अभिभावकहरूलाई सम्मान गर्नु समाजको गौरवपूर्ण परम्परा भएको अध्यक्ष ओमभक्त सेडाइले बताउनुभयो ।

साधारण सभाले आजीवन सदस्यता खुला गर्दै सदस्य विस्तार गर्ने महत्वपूर्ण निर्णयसमेत गरेको छ । यस निर्णयले समाजलाई थप बलियो, व्यवस्थित र समावेशी बनाउने विश्वास लिइएको छ ।

साथै अङ्गिरस भवनमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न बन्धुहरू समक्ष सहयोगको लागि आग्रह गरिएको थियो । समाजको आफ्नै भवन निर्माण कार्य समाजका लागि दीर्घकालीन सम्पत्ति र गतिविधिको केन्द्र बन्ने विश्वास व्यक्त गरिएको छ । भवन निर्माणको सुरुवात माता पदमा देवी सेडाइले गर्नु भएको जानकारी पनि सभामा गराइएको थियो । कार्यक्रममा साँस्कृतिक प्रस्तुतिले अझ्झ रौनक थपेको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष ओमभक्त सेडाइले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षमा गरिएका गतिविधि, सामाजिक कार्य, आर्थिक व्यवस्थापन र भावी योजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो । यस्तै, कोषाध्यक्ष यामनाथ सेडाइले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो । पारदर्शिता र उत्तरदायित्व समाजको मुख्य आधार भएको उहाँहरूको भनाइ थियो ।

साधारण सभामा सम्मानित हुने ज्येष्ठ आमा–बुबाहरूमा विराटनगर महानगरपालिका वडा नं. ४, मोरङ निवासी पूर्व प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका माता ९२ वर्षीया विष्णुमाया सेडाइ, कमल गाउँपालिका वडा नं. १ बाह्रबिघे, झापा निवासी ९४ वर्षीया लक्ष्मी प्रसाद र ९२ वर्षीया अम्बिका सेडाइ, वैवाहिक सम्बन्धमा बाँधिएको ७८ वर्ष पूरा गरेको अवसरमा दम्पती सम्मान प्राप्त गर्नुभएको थियो ।

यस्तै दमक–८ निवासी ९२ वर्षीया बछलादेवी सेडाइ, मेचिनगर नगरपालिका धाइजन निवासी वरिष्ठ न्युरोलोजिस्ट डाक्टर गोपाल सेडाइका पिता ९३ वर्षीय दाताराम सेडाइ, बिर्तामोड–४ निवासी ८५ वर्षीया माता देवका सेडाइ, बिर्तामोड–१० निवासी ८४ वर्षीया राममाया सेडाइ, उदयपुर जिल्ला बेलका नगरपालिका निवासी ९३ वर्षीया विष्णुमाया सेडाइ तथा बिर्तामोड–१० निवासी ८८ वर्षीय भिनाजु कमलापती कणेल समेत सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले सेडाइ बन्धु समाज अङ्गिरसले सामाजिक एकता, पारिवारिक सम्बन्ध मजबुत बनाउने, ज्येष्ठ नागरिकको सम्मान र भावी पुस्तालाई संस्कार हस्तान्तरण गर्ने कार्यमा उल्लेखनीय भूमिका खेल्दै आएको धारणा व्यक्त गर्नुभयो । साधारण सभा आपसी सद्भाव, सहकार्य र एकताको सन्देशसहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।