मङ्गलवार, चैत १७, २०८२
Sancharmanch

‘अग्रजलाई सुनौं’ कार्यक्रममा पत्रकारिताको आत्मस्वीकारोक्तिः झापाली सञ्चार क्षेत्रमा खाम संस्कृति र पित्त पत्रकारितामाथि कडा टिप्पणी

Posted by:
शुक्रवार, पौष ११, २०८२

झापा । प्रेस चौतारी झापाले शुक्रबार आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा झापाली पत्रकारिताभित्र मौलाउँदै गएको विकृति, खाम संस्कृति र अस्वस्थ पत्रकारिताबारे गम्भीर बहस भएको छ। कार्यक्रममा वक्ताहरूले पत्रकारिताको पेशागत मर्यादा कमजोर बन्दै गएको भन्दै सुधार नगरे भविष्य झनै सङ्कटमा पर्ने संकेत गर्नुभएको थियो।

प्रेस चौतारी केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि गोपाल काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ‘अग्रजलाई सुनौं’ कार्यक्रम झापा जिल्लाले सुरु गरेको र यसलाई केन्द्रले पनि सिको गर्दै सुरु गरेको बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तथा साहित्यकार केशव आचार्य प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। आचार्यले दशकौँ लामो पत्रकारिता यात्राका अनुभव सुनाउँदै पत्रकारिता व्यवसायिक दबाब, आर्थिक अभावका कारण विचलित हुँदै गएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै अग्रज सञ्चारकर्मी तथा प्रेस चौतारी कोशी इन्चार्ज गणेश पोख्रेलले झापाली पत्रकारिता ‘खाममा दाम राख्नुपर्ने’ परिपाटीबाट ग्रसित रहेको संकेत गर्नुभयो। उहाँले खाममा मोटो रकम नराखुन्जेल पत्रकार नजुट्ने, समाचार नबन्ने र समाचारको प्राथमिकता पैसाले निर्धारण गर्ने अवस्था पैदा भएको टिप्पणी गर्नुभयो।

झापामा पछिल्लो समय मौलाउँदै गएको ‘पित्त पत्रकारिता’ अर्थात् पक्षपाती, पूर्वाग्रही र उत्तेजनात्मक पत्रकारिताबारे पनि कार्यक्रममा छलफल भएको थियो।

कार्यक्रममा सहभागी अग्रज सञ्चारकर्मीहरूले पत्रकारितालाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्नेमा जोड दिँदै आत्मशुद्धीकरण बिना पत्रकारिताको सुधार सम्भव नहुने धारणा व्यक्त गर्नुभएको थियो।

सक्रियता र लेखनका हिसाबले पनि केशव आचार्य हाल पनि उत्तिकै सशक्त ढङ्गमा प्रस्तुत हुने गरेको नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो।

अग्रजहरूको प्रेरणा तथा भोगाइबाट सिक्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै आफ्नो कार्यकालमा १२ जना अग्रजलाई सुन्ने गरी तालिका निर्धारण गरिएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो।

प्रेस चौतारी झापा शाखाले हरेक तीन–तीन महिनाको अन्तरमा अग्रज व्यक्तित्वका अनुभव नयाँ पुस्तासँग बाँड्ने उद्देश्यले आयोजना गर्दै आएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य तथा प्रेस चौतारी कोशी इन्चार्ज गणेश पोख्रेल, केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रेस चौतारी झापाले एउटा उत्कृष्ट कार्यक्रमको थालनी गरेको भन्दै नारी सञ्चार गृह झापाकी उपाध्यक्ष जोश्ना श्रेष्ठले खुलेरै प्रशंसा गर्नुभयो।

प्रेस चौतारी झापा शाखाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी गोपाल काफ्ले प्रमुख अतिथि रहनुभएको थियो।

उपाध्यक्ष सुनिरा मैनालीले स्वागत गर्नुभएको कार्यक्रम प्रेस चौतारी झापा शाखाका सचिव युवराज आचार्यले सञ्चालन गर्नुभएको थियो।

सम्बन्धित खबर