शुक्रवार, पौष ११, २०८२
Sancharmanch

डिल्लीराम कट्टेल स्मृतिग्रन्थको विमोचन सम्पन्न

Posted by:
बुधवार, पौष ९, २०८२
झापा, बाहुण्डाँगी /  “हाम्रो प्रेरणाको स्रोत डिल्लीराम कट्टेल (कटेल बाजे)” शीर्षकको स्मृतिग्रन्थ विमोचन कार्यक्रम झापाको मेचीनगर नगरपालिका–४ बाहुण्डागीमा भव्य रूपमा सम्पन्न भएको छ । डिल्लीराम कटेल स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का निर्वाचित सांसद विश्वप्रकाश शर्मा रहनुभएको थियो । प्रमुख अतिथि शर्माले स्मृतिग्रन्थको विमोचन गर्दै स्व. कटेलले समाजमा पसर्याएको योगदान अमूल्य रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले डिल्लिराम कट्टेल ९ वर्षमा झापाको बाहुनडाँगीमा आमा खोज्दै आउँदा आमा नभेटेपछी सोहि स्थानमा बसेर तत्कालिन अवस्थाको प्रधानपञ्च जस्ले समाज रुपान्तरणका लागि युगान्तकारी भुमिका निर्वाह गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले आफ्ना पिता स्व. डिल्लीराम कट्टेल सामाजिक सेवा, निष्ठा र त्यागको प्रतिमूर्ति रहेको स्मरण गर्दै उहाँका विचार र योगदान भावी पुस्ताका लागि प्रेरणादायी रहने बताउनुभयो । उहाँले स्मृतिग्रन्थले इतिहासलाई जीवित राख्ने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै मेचिनगर नगरपालिका नगर उपप्रमुख मिना पोख्रेल (उप्रेती)ले लोकतन्त्र, सामाजिक न्याय र जनसेवाका क्षेत्रमा कटेलले देखाएको प्रतिबद्धता आजको पुस्ताका लागि अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो । स्मृतिग्रन्थले व्यक्तिको मात्र नभई समग्र समाजको इतिहास बोकेको हुँदा यस्ता कृतिको संरक्षण र अध्ययन आवश्यक रहेको उप प्रमुख उप्रेतीको भनाइ थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । स्व. डिल्लीराम कटेललाई सरल, इमानदार र जनमुखी व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँको जीवन यात्रा र योगदानलाई स्मृतिग्रन्थमार्फत दस्तावेजीकरण गरिएकोमा साहित्यकार तथा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले आयोजकलाई धन्यवाद दिनुभयो । स्मृतिग्रन्थ विमोचन कार्यक्रममा साहित्यकार विनोद खनालले कृति समिक्षा गर्नुभएको थियो । स्मृतिग्रन्थका सम्पादक तथा परिवारजनले ग्रन्थ तयार पार्ने क्रममा भोगेका अनुभव र उद्देश्यबारे अध्यक्ष राम कट्टेलले प्रकाश पार्नुभएको थियो । स्मृतिग्रन्थ केवल पुस्तक मात्र नभई सामाजिक उत्तरदायित्व र प्रेरणाको स्रोत भएको सहभागिहरुको धारणा थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेचिनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले स्व.डिल्लिराम कट्टेल र बाहुनडाँगीको इतिहाँस विकास र संमृद्धिसँग जोडिएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता डिल्लीराम कटेल स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेलज्यूले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का निर्वाचित सांसद विश्वप्रकाश शर्मा रहनुभएको थियो । स्थानिय आम नागरिक, समाजसेवी, बुद्धिजिवि साथै समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरु लगायतको उपस्थिति रहेको कार्यक्रम शिक्षक मुना राना र शान्ता निरौलाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर