शुक्रवार, पौष ११, २०८२
Sancharmanch

नगर प्रमुखको उदारता, उपप्रमुखको त्याग: सुरुङ्गा प्रहरीलाई बोलेरो गाडी

Posted by:
मङ्गलवार, पौष ८, २०८२
पुष्पलता अर्याल, झापा/ नगर प्रमुखको फराकिलो मन, उप प्रमुखको त्याग, नागरिकको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सुरुङ्गालाई बोलेरो गाडि । झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई उपप्रमुखले प्रयोग गर्दै गरेको सवारी साधन प्रदान गरेको छ । आइतवार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर गाडि हस्तान्तरण गरेको हो । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनीमा इलाका प्रहरी कार्यालयले प्रयोग गर्दै आएको गाडि जलेर नष्ट भएको थियो । सवारी साधनको अभावका कारण शान्ति सुरक्षा कायम गराउन प्रहरीलाई समस्या परेपछी नगरले उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आउनुभएको मे.१ झ १२२ नम्बरको गाडी प्रहरीलाई हस्तान्तरण गरिएसँगै नगर प्रमुखको उदारमन र उपप्रमुखको त्याग उदाहरणीय बनेको भन्दै यतिवेला चौतर्फि चर्चा चुलिएको छ । प्रहरीको दैनिक कार्य सम्पादनमा सहजता प्रदानका लागि गाडि हस्तान्तरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले यस अघि पनि प्रहरीलाई सवारी साधन उपलब्ध गराएको थियो । सवारी साधनसँगै आवश्यक इन्धन नियमित उपलब्ध गराईरहेको बताइएको छ । तर जेनजी आन्दोलनका क्रममा नगरले उपलब्ध गराएको गाडिमा आगजनी भएका कारण जलेर नष्ट भएको थियो । गाडि नष्ट भएपछि पुनः दोश्रो पटक उपप्रमुखले प्रयोग गर्दै आउनुभएको गाडि उपलब्ध गराइएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका भौतिक संरचना र सवारी साधन आम नागरिक सवैको साझा सम्पत्ती भएका कारण यिनिहरुको रक्षा गर्नु सवैको दायित्व रहेको भन्दै संरक्षणका लागि अपिल गर्नुभयो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक सुवास ढुङ्गानाले आफुले विभिन्न कठिनाइका बाबजुत पनि कार्य सम्पादन गरिरहेको बताउँदै प्रहरीको समस्या बुझेर नगरले सवारी साधन उपलब्ध गराएको प्रति खुसी ब्यक्त गर्नुभयो । सवारीको चावी नगर प्रमुख पोखरेल, उपा प्रमुख आशा शर्मा सिवाकोटीले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक सुवास ढुङ्गानालाई हस्तान्तरण गर्नुभएको थियो । गाडि हस्तान्तरण कार्यक्रममा उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यसहित जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर