झापा/ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ राई झापाको बिर्तामोड आउने मिति सार्वजनिक भएको छ ।

श्रम संस्कृति पार्टीको झापा जिल्ला स्तरीय सभालाई सम्बोधन गर्न झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आउने विषयमा पार्टीको जिल्ला कार्य समिति झापाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाको आयोजनामा पुस ९ गते बुधबार बिर्तामोडस्थित सिटी सेन्टरमा श्रम संस्कृति पार्टीको झापा जिल्ला स्तरीय सभाको आयोजना गरिएको जानकारी श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाका अध्यक्ष केशब भण्डारीले दिनुभयो ।

सञ्चारकर्मीहरूले पार्टी संगठन विस्तारको क्रममा संगठनको अदूरदर्शिताका कारण हो या के समस्याका कारण नेतृत्वमा रहेका व्यक्तिहरूलाई निलम्बन गर्नुपर्ने बाध्यताबारे राखेको प्रश्नमा श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव ब्रबिम शेर्माले यो संयोग मात्र भएको बताउनुभयो ।

सञ्चारकर्मीहरूले पार्टी संगठन विस्तारको क्रममा मंगोलियन फेस मात्र देखिएको भन्ने प्रश्नमा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य केवलराम राईले अन्य पार्टीहरूमा एकथरीका मानिसहरूको मात्र सहभागिता रहेको दाबी गर्दै श्रम संस्कृति पार्टी सम्पूर्ण जातजातिको साझा संगठनका रूपमा विकास भएको बताउनुभयो ।

श्रमदानमा सहभागी सम्पूर्णलाई श्रम संस्कृति पार्टीमा समाहित गर्दा अन्य जातजातिका मानिसहरूलाई पनि खुलमखुला स्वागत गरिने केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङ्वाले बताउनुभयो ।

हालसम्म श्रम संस्कृति पार्टीका पाँचवटा पालिकामा समिति विस्तार भइसकेको बताइएको छ ।

श्रम संस्कृति पार्टी जिल्ला कार्य समिति झापाका अध्यक्ष केशब भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव ब्रबिम शेर्मा, केन्द्रीय कोषाध्यक्ष समिता राई, केन्द्रीय सदस्यहरू हिमालय प्रकाश कन्दङ्वा, केवलराम राई, मिका दुलाल, चन्द्रप्रकाश चेम्जोङ लगायतले पार्टीका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।










