सोमवार, मंसिर २३, २०८२
Sancharmanch

आन्तरिक चुनावलाई सौहाद्र्धपूर्ण र मेलमिलापका साथ सम्पन्न गरेर फागुन २१ गते हुने आम चुनावमा पार्टीका उम्मेद्वारहरुलाई गराउनेतर्फ आम नेता/कार्यकर्ताको योगदान रहनुपर्ने:केन्द्रीय सदस्य सरिता प्रसाई

सोमवार, मंसिर २३, २०८२
विर्तामोड २१ मंसीर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टीको आन्तरिक चुनावलाई सौहाद्र्धपूर्ण र मेलमिलापका साथ सम्पन्न गरेर फागुन २१ गते हुने आम चुनावमा पार्टीका उम्मेद्वारहरुलाई गराउनेतर्फ आम नेता/कार्यकर्ताको योगदान रहनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनुभएका नेता प्रसाईले पार्टीभित्र लामो संघर्ष गरेको र इतिहास बोकेको पुरानो पुस्ता, पञ्चायतकालमा दुःख गरेको अर्को पुस्ता, २०६२÷०६३ बाट उदाएको पुस्ता र नयाँ पुस्ता गरी चारपुस्ता क्रियाशील रहेको  हुँदा सबैलाई समावेश गरेर मात्र पार्टी बलियो हुने भनाई राख्नुभयो । निर्वाचित सभापतिमाथि आक्रमण हुनु वी.पी. कोइराला र गणेशमानको निवास, किसुनजीको आश्रम र पार्टी कार्यालयहरुमाथि भौतिक आक्रमण र तोडफोड हुनु सिंगो नेपाली कांग्रेसमाथिको आक्रमण भएको बताउँदै नेता प्रसाईले आफ्नै नेता र नेतृत्वको बद्नामी गरेर पार्टी बलियो हुननसक्ने बताउनुभयो । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने पक्ष, चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्ष र आम निर्वाचनपछि मात्र १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने पक्षधर विचार केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको विचार राख्दै कांग्रेस पार्टीभित्र भएको बहस लोकतान्त्रिक अभ्यासमात्रै भएको बताउनुभयो । विविध धारणा र विचारका बीच सर्वसम्मतीले महाधिवेशनको मिति घोषणा भएको हुँदा अब सबै नेता÷कार्यकर्ता मिलेर आम चुनावमा पार्टीले उठाएका उम्मेद्वारलाई विजयी गराउन लाग्नुपर्नेमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेता थापाले जोड दिनुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिका अनुसार क्रियाशिल सदस्यको नवीकरण र नयाँ वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ÷नगर सभापतिहरुको सहभागिता रहेको बैठकले कुनैपनि वडाबाट क्रियाशील नवीकरण छुट भएको भए आगामी मंसीर २५ गतेभित्र नवीकरण गरेर जिल्ला कार्यसमितिमा बुझाउन मातहतका निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ । यसैगरी नयाँ क्रियाशिल सदस्यता वितरणका कार्य वडातहमा मंसीर २९ गतेभित्र सम्पन्न गरी  पालिका तहमा बुझाउने, पालिकाले पुष २ गतेभित्र प्रदेशसभा र क्षेत्रीय समितिमा बुझाउने एवं पुस ८ गतेभित्र क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा बुझाइसक्न समयसीमा निर्धारण गरेको छ । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको बैठकमा सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।
सम्बन्धित खबर