पुष्पलता अर्याल,
झापा, विर्तामोड / सामाजिक उत्तरदायित्व र मानवतावादी भावनालाई प्राथमिकता दिंदै झापाको विर्तामोड नगरपालिकामा स्थापना गरिएको उर्जाशील रामधुनी आमा समूहले यो महिनामा पनि आफ्नो नियमित सहयोग अभियानलाई निरन्तरता दिएको छ । समूहले हरेक महिना एक सामाजिक सेवा–मुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ, जुन समुदायमा सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण पहलका रूपमा स्थापित हुँदै आएको छ । यसै क्रममा मंसिर महिनाको कार्यक्रम लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसँग जोडेर आयोजना गरिएको थियो । सानो टेलरिङ ब्यवसाय गर्दै जिविकोपार्जन गरिरहेको परिवारलाई सहयोग लिएर पुगेको उर्जाशील रामधुनी आमा समूह अफ्ठेरोमा परेका नागरिकहरुलाई सहयोग लिएर पुग्ने गरेको कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले बताउनुभयो ।

अभियान अन्तर्गत विर्तामोड नगरपालिका–५ मा बसोबास गर्ने एक विपन्न तथा पीडामा परेका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाजिक समावेशितालाई बढावा दिने उद्देश्यले यो सहयोग पीडित परिवारको घरमै पुगेर बितरण गरिएको थियो । सानो सहयोगले परिवारको दुःखनै हरण नहुने भए पनि थोरै मल्हमको रुपमा काम गर्ने हुँदा मञ्जुश्री असाहाय संरक्षण केन्द्र झापाकी अध्यक्ष तथा उर्जाशील रामधुनी आमा समूहकी सल्लाहकार मञ्जु ओली न्यौपानेले यस महिनाको सहयोग कार्यक्रममा योगदान गर्नु भएको उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो ।

कार्यक्रमको विशेष आकर्षण भनेको मञ्जुश्री असाहाय संरक्षण केन्द्र झापाकी अध्यक्ष तथा उर्जाशील रामधुनी आमा समूहकी सल्लाहकार मञ्जु ओली न्यौपानेको जन्मदिनको अवसर पारेर सहयोग प्रदान गरिएको थियो । उहाँले आफ्नो जन्मदिनलाई ‘आनन्दभन्दा सेवा ठूलो’ भन्ने भावनासहित समाजसेवामा समर्पित गर्ने निर्णय लिएपछि समूहका सदस्यहरू समेत एकजुट भएर अभियानलाई थप प्रभावकारी बनाउनुभएको थियो ।

सानो ब्यवसाय बाट जिवनयापन गर्दै आउनुभएका विपन्न परिवारलाई विभिन्न हस्पिटलमा उपचारका लागि लगिएको तर आर्थिक अभावका कारण समस्यामा परेको स्थानिय जिवनकुमार मिश्रले बताउनुभयो ।

यसका साथै विर्तामोड नगरपालिका–५ का वडा अध्यक्ष रोहित प्रसाई तथा आमा समूहका सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रमका लागि आर्थिक तथा सामग्री सहयोग संकलन गरिएको थियो ।

समुदाय भित्रैबाट समर्थन बढ्दै गएको देखिनुले समूहको गतिविधिप्रति जनविश्वास र सकारात्मक दृष्टिकोण अझ मजबुत बनेको बताइन्छ । जन्मदिनमा खर्च गर्ने रकमले एउटा परिवारका लागि राहत पुग्छ भने किन सहयोग नगर्ने ? भन्ने सोचकासाथ आफुलो सहयोग गरेको मञ्जुश्री असाहाय संरक्षण केन्द्र झापाकी अध्यक्ष तथा उर्जाशील रामधुनी आमा समूहकी सल्लाहकार मञ्जु ओली न्यौपानेले बताउनुभयो ।

कार्यक्रमको औपचारिक संयोजन उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले गर्नुभयो भने प्रमुख आतिथिको रुपमा वडा अध्यक्ष रोहित प्रसाई रहनुभएको थियो । समूहले निरन्तरता दिएको सहयोग अभियानलाई उच्च प्रशंसा गर्दै स्थानीय सरकार पनि यस्ता नागरिक–नेतृत्वका पहलसँग सहकार्य गर्न सदैव तयार रहेको छ । निरन्तर सामाजिक सेवा, विपन्नका आवाज उठाउने अभियान र मानवीय मूल्यको संरक्षणमा आमा समूहको सक्रियता विर्तामोडको सामुदायिक परिवर्तनको एउटा प्रेरणादायी उदाहरण बन्दै गएको छ।

सहयोग हस्तान्तरण कार्यक्रम सस्थाकी सचिव निरा न्यौपाने कट्टेलले सञ्चालन गर्नु भएको थियो ।