सोमवार, मंसिर २३, २०८२
Sancharmanch

चिसो मौसममा अपाङ्गता भएका व्यक्तिलाई इनरव्हील क्लव अफ बिर्तामोड मिडटाउनको न्यानो स्पर्श

बिहिवार, मंसिर १९, २०८२
झापा/ इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनले विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि मानव–सेवा कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १७ गते बुधवार सम्पन्न कार्यक्रममार्फत झापाको बुद्धशान्ति गाउँपालिका, बुढाबारे क्षेत्रमा बसोबास गर्ने कुल ७२ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको हो । शीतलहर र चिसो मौसमले बढी प्रभावित हुने अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको क्लवकी प्रेसिडेन्ट लुना बस्नेत (सिवाकोटी)ले बताउनुभयो । कम्बल वितरण कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन तथा रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन बीच सहकार्य रहेको थियो । लाभग्राहीहरूको पहिचान र समन्वयको जिम्मेवारी शान्ति अपाङ्गता संघले जनाएको थियो । समाजमा आर्थिक अभाव र शारीरिक अपाङ्गताको दोहोरो चुनौती झेलिरहेका व्यक्तिहरू लक्षित गरिएको हुँदा कार्यक्रमले प्रत्यक्ष रुपमा जीवन उपयोगी सहयोग पुर्याएको देखिन्छ । कार्यक्रममा इनरव्हील क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो । क्लबकी अध्यक्ष लुना बस्नेतका अनुसार समाजमा विभिन्न परिस्थितिका कारण सहज रूपमा जीवनयापन गर्न कठिनाई भएकाहरुलाई सहयोग पु¥याउनु इनरव्हीलको प्रमुख उद्देश्य मध्येको एक हो । उहाँले आगामी दिनमा पनि समुदायमै रहेर यस्ता जनकल्याणमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । बस्नेतले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिन्न हिस्सा भएकाले उनीहरूको सम्मान, संरक्षण र सशक्तीकरणका लागि सरकारी तथा गैरसरकारी निकायबीच थप सहकार्य आवश्यक रहेको बताउनुभयो । “चिसोले स्वास्थ्यमा थप समस्या ल्याउन सक्छ, विशेषगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई, त्यसैले न्यानो कम्बलले उहाँहरूको जीवन सहज बनोस् भन्ने हाम्रो चाहना हो,” अध्यक्ष बस्नेतले भन्नुभयो । स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे बुझ्दै उहाँहरूका आधारभूत आवश्यकतामा केन्द्रित सहयोग पुर्याउन यस प्रकारका कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको छ । सहभागीहरूले पनि यस्ता सामाजिक कार्यले समुदायमा संवेदनशीलता र सहयोगी भावना अभिवृद्धि गरिरहेको प्रतिकृया दिएको बुद्धशान्ति गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिना बिष्टले बताउनुभयो । मानवीय सेवामा समर्पित इनरव्हील क्लबले विगत वर्षहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सहयोगका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्षको विश्व अपाङ्गता दिवसमा गरिएको कम्बल वितरण कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाको सन्देश फैलाएको देखिन्छ ।
सम्बन्धित खबर