मङ्गलवार, पौष १, २०८२
Sancharmanch

प्रहरी कार्यालय पुनःनिर्माणका लागि स्पाईन एक्स अस्पतालद्वारा ५१ हजार सहयोग

बुधवार, मंसिर १८, २०८२
झापा/ जेन जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएका इलाका प्रहरी कार्यालय अनारमनी, विर्तामोड तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुनःनिर्माण कार्यलाई सघाउन फेरि पनि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । विर्तामोडमा सञ्चालित स्पाईन एक्स सुपर स्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.का अध्यक्ष डा. प्रेम बहादुर साही र मेनेजिङ डाइरेक्टर किशोर भुजेलले सो रकम हस्तान्तरण गर्नुभएको हो । बुधबार दुवैले संस्थागत रूपमा इलाका प्रहरी कार्यालय परिसरमै पुगेर पुनर्निर्माणका लागि सहयोग रकम बुझाउनुभएको छ । पुनःनिर्माणका प्रमुख अभियन्ता विपिन बजगाईका अनुसार साही र भुजेलको सहयोगले कार्यालय पुनःस्थापना तथा संरचनागत सुधारमा थप गति प्राप्त भएको विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले बताउनुभयो । रोहित प्रसाई प्रहरी कार्यालयको पुनःनिर्माणमा डे वान देखिनै अभियानको एक अभिन्न अंगका रुपमा रहेर काम गरिरहनुभएको छ । विपिन बजगाई जेन जि आन्दोलनपछि दुवै कार्यालयको प्रारम्भिक अवस्थादेखि नै पुनर्निर्माणका काममा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ । आफ्ना व्यक्तिगत व्यस्तता बीच पनि उहाँले समय निकालेर क्षतिग्रस्त संरचनाहरू मर्मत तथा पुनःनिर्माण गर्न निरन्तर पहल गर्दै आउनुभएको छ । उहाँकै सक्रियता, समन्वय र समुदायसँगको निरन्तर संवादका कारण पुनःनिर्माण अभियानले उल्लेखनीय प्रगति गरेको देखिन्छ । क्षति पुगेका संरचनाहरू पुनःनिर्माण गर्न आवश्यक पर्ने सामग्री, श्रम र आर्थिक स्रोत जुटाउन समुदाय, स्थानीय व्यवसायी तथा विभिन्न संघ–संस्थाहरूबाट सहयोग आउने क्रम जारी छ । यसअघि पनि विभिन्न व्यक्तिहरू तथा संस्थाहरूले आर्थिक तथा जनसहयोग प्रदान गरिसकेका छन् । सामुदायिक सहयोग र स्थानीय तहको समन्वयमा आधारित पुनःनिर्माण अभियानलाई सबै पक्षले सकारात्मक रूपमा नियालिरहेका छन् । सुरक्षा निकायका संरचनाहरू पुनःस्थापित हुनु समुदायको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै स्थानीयवासीले निरन्तर सहयोग आवश्यक रहेको बताएका छन् । नयाँ सहयोगसँगै दुबै कार्यालयलाई पूर्ववत् अवस्थामा फर्काउने काम भए पनि क्षति पुगेका संरचना निर्माणका लागि आवश्यक सामग्री जुटाउन क्रममा बजारमा तिर्नुपर्ने ऋण समेत रहेको बुझिएको छ । जस्का लागि दाताहरुको सहयोगले परिपुर्ति गर्दै जाने अभियान्ता बजगाईले बताउनुभयो ।
सम्बन्धित खबर