मङ्गलवार, पौष १, २०८२
Sancharmanch

विर्तामोड प्रहरी कार्यालय पुनःनिर्माणका लागि चौलागाई परिवारबाट एक लाख सहयोग

मङ्गलवार, मंसिर १७, २०८२
झापा/ जेन जि आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका झापाको विर्तामोड स्थित इलाका प्रहरी कार्यालय संरचनाको पुनःनिर्माणका लागि दातामार्फत सहयोग जुटाउने अभियान निरन्तररुपमा चलिरहेको छ । त्यही अभियानअनुसार इलाका प्रहरी कार्यालय विर्तामोड तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सहयोग दिने क्रम तीव्र बन्दै गएको छ । यसै क्रममा झापा जिल्ला बाह्रदशी गाउँपालिका–७ निवासी लोकनाथ चौलागाई र डिकुरादेवी चौलागाई तथा उहाँका छोराहरू—प्रेम, महेन्द्र र देवेन्द्र चौलागाई—ले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । परिवारको तर्फबाट प्रदान गरिएको यो सहयोग पुनःनिर्माण अभियानका लागि उल्लेख्य योगदान भएको अभियानको अग्रपंतिमा रहनुभएका विपिन बजगाईले बताउनुभयो । दाता देवेन्द्र चौलागाई, जो झापाको बाह्रदशी गाउँपालिका अध्यक्ष समेत रहनुभएको छ । सबै नागरिकको साझा आवश्यकताका रूपमा शान्ति–सुरक्षा प्रवाह गर्ने प्रहरी संरचना संरक्षण र पुनःस्थापनामा सबैले हातेमालो गर्दै निर्माणका कामहरु धमाधम भइरहेकाछन् । अभियानका संयोजक विपिन बजगाईका अनुसार हाल प्राप्त भइरहेको सहयोग रकम जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय अनारमनीको पुनःनिर्माणमा प्राथमिकताका साथ खर्च गरिनेछ । उहाँले जेन जि आन्दोलनका कारण भौतिक रूपमा क्षति पुगेका प्रहरी संरचनाले समुदायमा सेवा प्रवाहमा अवरोध सिर्जना भएकाले ती संरचनाको शीघ्र पुनःस्थापना अपरिहार्य महसुस गरी अभियान चलिरहेको बताउनुभयो । बजगाईले स्थानीय तहदेखि व्यापारी, सामाजिक अभियन्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट समेत सहयोग आउन थालेको जानकारी दिनुभयो । प्रहरी प्रशासन पुनःस्थापनाका अभियन्ता बजगाई सुरुदेखिनै यो अभियानमा सक्रिय रूपमा निस्वार्थ भावनाकासाथ जुटिरहनु भएको छ । प्रारम्भिक अवस्थाबाट नै आवश्यक समूह समन्वय, सहयोग संकलनमा अहम भुमिका निर्वाह गर्दै आउनुभएका बजगाई विर्तामोड नगर तथा आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा पुनःस्थापनाको प्रभाव देखिन थालेको छ । उहाँका अनुसार पुनःनिर्माण अभियानले स्थानीयवासीमा प्रहरीप्रति भरोसा पुनःस्थापित गर्न मद्दत पु¥याइरहेको छ । स्थानीयवासीले पनि पुनःनिर्माण अभियानप्रति ऐक्यवद्धता जनाउँदै प्रहरी संरचनाको मजबूतीले समुदायको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । जेन जि आन्दोलनका घटनापछि निरन्तर सहमतिपूर्ण वातावरण कायम गर्न प्रहरी र समुदाय दुवैको सक्रियता आवश्यक रहेको देखिन्छ । यसरी स्थानीय नेतृत्व, सामाजिक अभियन्ता र सर्वसाधारणको सामूहिक प्रयासमा अघि बढिरहेको पुनःनिर्माण अभियानले भविष्यमा शान्ति–सुरक्षा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर