झापा/ २०८२ साल मङ्सिर १५ गते, विश्व एड्स दिवस। झापाको मेचीनगर नगरपालिकाले कलेजमा अध्ययनरत विद्यार्थी र पुनःस्थापना केन्द्रका स्वयसेवकहरूका लागि लैङ्गिक हिंसा तथा एड्ससम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा सन् २००५ बाट सन् २०१८ सम्म नाइट चेस क्लब परियोजना अधिकृतका रूपमा सामाजिक विकासका गतिविधिमा सक्रिय तथा सन् २०१८ देखि हालसम्म रिचमण्ड फेलोसिप मोरङको झापा बेस परियोजना अधिकृतको भूमिकामा रहिरहनु भएका गोविन्द न्यौपाने र मेची अञ्चल अस्पतालमा सञ्चालित नाइट चेस क्लबमा मौखिक प्रतिस्थापन उपचार प्रणालीको सामाजिक सहयोग इकाइ परियोजना प्रमुख सोमराज ढकालले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मान्छे–मान्छेबीच हुने हिंसा अन्त्यका लागि अभियान सञ्चालन भइरहेको बताउनुभयो।

सोमबार विश्व एड्स दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसा तथा एड्ससम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो।

पहिले ‘महिला हिंसा’ नामाकरणमा अभियान सञ्चालन हुने गरे पनि हाल महिला वा पुरुष दुवैलाई तथा यौनिक अल्पसंख्यकलाई हुने हिंसालाई मध्यनजर गर्दै ‘लैङ्गिक हिंसा’ नामाकरण गरिएको मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताउनुभयो।

मेचीनगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो।

नगरका चारवटा क्याम्पसका विद्यार्थी र पुनःस्थापना केन्द्रका स्वयसेवकसहित करिब ८० जनाको सहभागिता रहेको कार्यक्रममा केस म्यानेजर अरुणा चौधरीले स्वागत गर्दै सन् १९९७ मा आफूले पहिलो पटक एचआईभीबारे सुनेको बताउँदै बेचबिखनमा परेका चेलिबेटीमा पहिलो पटक एचआईभी संक्रमण फेला परेको र उनीहरूलाई जीवनयापनमा कठिनाइ भए पनि हाल अवस्था परिवर्तन भएको उल्लेख गर्नुभयो।

सहजीकरण महिला विकास अधिकृत जयन्ती खरेलले गर्नुभएको थियो।

‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित मेचीनगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले १६ दिनसम्म विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ।

१६ दिने अभियानलाई जीबीभी स्पेसलिस्ट कमला उप्रेती (रिजाल) तथा मेचीनगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा महिला विकास अधिकृत जयन्ती खरेलले सहजीकरण गरिरहनुभएको छ।