मङ्गलवार, मंसिर १७, २०८२
Sancharmanch

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विर्तामोडमा इनरह्वीलको प्रभातफेरी

मङ्गलवार, मंसिर १७, २०८२
झापा/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको आयोजनामा आइतबार विर्तामोडमा प्रभातफेरी तथा कोणसभासहितको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा बढ्दो लैङ्गिक हिंसा, भेदभाव र शोषणका विरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम विभिन्न सामाजिक संस्थाको सक्रिय सहभागितामा सम्पन्न भएको हो । १६ दिने अभियानमा सहभागिता जनाउँदै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनले कार्यक्रमको आयोजना गरेको इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी प्रेसिडेन्ट लुना बस्नेत सिवाकोटीले बताउनुभयो । विर्तामोडको मुक्तिचोकबाट सुरु गरिएको प्रभातफेरी पश्चिम अदुवा पुल हुँदै पुरानो इलाम स्टेन्डतर्फ अघि बढेको थियो । सहभागीहरूले ‘लैङ्गिक हिंसा अन्त्य गरौँ’, ‘महिलाको सम्मान, सभ्य समाजको पहिचान’, ‘बालविवाह नियन्त्रण गरौँ’ भन्ने शन्देश प्रभाह गर्दै पुनः मुक्तिचोकस्थित हनुमान सेन्टर अगाडिको सडकखण्डमा आएर कार्यक्रम कोणसभामा परिणत भएको थियो । कार्यक्रमको अध्यक्षता इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी अध्यक्ष लुना बस्नेत सिवाकोटीले गर्नु भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि अधिवक्ता कोपिला बस्नेतले समाजमा मौलाएको लैङ्गिक हिंसा अन्त्य गर्न कानुनी सचेतना, सामाजिक प्रतिरोध र परिवार–समुदायको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता अभियानहरूले महिलालाई सशक्त बनाउन, हिंसाविरुद्ध आवाज उठाउन र न्यायिक प्रक्रियामाथि विश्वास बढाउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रम इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन, इनरह्वील क्लब अफ भद्रपुर, इनरह्वील क्लब अफ मेचिनगर र इनरह्वील क्लब अफ अर्जुनधाराको संयुक्त सहभागितामा सम्पन्न भएको थियो । विभिन्न क्लब, संघ–संस्थाले एकै ठाउँमा भेला भएर महिलामाथि हुने सबै प्रकारका हिंसालाई रोकथाम गर्न प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चारिका समूह झापा, नारी सञ्चार गृह झापा, विर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी संघ, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, लायन्स, लियो, लेडी, विरता लेडी जेसिज, मानवअधिकार टोली, एकल महिला समूह, स्थानीय विभिन्न कलेजका विद्यार्थी, तथा रोटरी क्लब अफ विर्तामोड मिडटाउनका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । हरेक वर्ष लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न गतिविधिहरु सञ्चालन हुने गरेको बताउँदै यस वर्ष विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गरिएको सञ्चारकर्मी लिला अनमोलले बताउनुभयो । सम्पूर्ण कार्यक्रमको सञ्चालन सञ्चारिका समूह झापाकी अध्यक्ष तथा सञ्चारकर्मी लिला अनमोलले गर्नुभएको थियो । १६ दिने अभियानलाई सफल बनाउन ग्रामीणदेखि शहरी तहसम्म प्रत्यक्ष रूपमा चेतनामूलक गतिविधि आवश्यक रहेको सन्दर्भलाई इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनले सम्बोधन गरेको छ । प्रभातफेरी कार्यक्रमले लैङ्गिक हिंसाविरुद्ध समाजमा सकारात्मक सन्देश प्रवाह गरेको तथा सामूहिक आवाजले समाज परिवर्तन सम्भव भएको शन्देस प्रभाह गरेको छ ।
सम्बन्धित खबर