मङ्गलवार, मंसिर १७, २०८२
Sancharmanch

देशभर मानवसेवा आश्रमको अभियान सक्रिय: एक हप्तामै ४८ उद्धार र ३६ पुनर्मिलन

मङ्गलवार, मंसिर १७, २०८२
काठमाडौँ । मानवसेवा आश्रमले मंसिरको दोस्रो हप्तामा मात्रै ४८ जना सहयोगापेक्षी व्यक्तिहरू उद्धार गरेको छ। सो अवधिमा ३६ जनाको सफल परिवारिक पुनर्मिलन समेत गरिएको आश्रमले जनाएको छ। आश्रमले सरकारकाे सहयाेगी संस्था बनेर सातै प्रदेशमा २९ वटा शाखाहरू विस्तार गरी सडकपेटीमा जोखिमपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपाेषण पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आइरहेकाे छ । अभियन्ता, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूले उद्धार तथा पारिवारिक पुनर्मिलन कार्यमा समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । उद्धार गरिएका मध्ये सम्भव हुनेहरूकाे पारिवारिक पृष्ठभूमि पत्ता लगाइ आश्रमले  पारिवारिक पुनर्मिलन गर्ने कार्य पनि तीव्रता साथ अगाडि बढाइरहेकाे छ ।  मानवसेवा आश्रमले  हाल सात प्रदेशका २१ जिल्लामा २९ वटा शाखामार्फत ७७ जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन गर्दै आएको छ। मानवसेवा आश्रम खुला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरूमा जीवन बिताइरहेका बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा मानसिक र शारीरिकरुपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलनमा समर्पित गैरनाफामूलक संस्था हो। आश्रमले ‘सहयाेगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र’ नेपाल बनाउने लक्ष्यसहित २०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेको थियो।
शनिबार रात्रिकालीन सडकसेवा मार्फत ६ जनाको उद्धार
काठमाडौँ । शनिबार राति देशका विभिन्न स्थानमा सञ्चालन गरिएको रात्रिकालीन सडकसेवामार्फत मानवसेवा आश्रमद्वारा  ६ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएकाे छ। सबै शाखाले सडकसेवा सञ्चालन गरे पनि दाङ शाखाले २ जना र रानीवन, वीरगञ्ज, धरान तथा चितवन शाखाले १/१ गरी जम्मा ६ जनालाई उद्धार गर्न सफल भएका हुन्। आश्रमले हरेक शनिबार राति सडकपेटी तथा सार्वजनिक स्थलमा जोखिमपूर्ण जीवन बिताइरहेका बेवारिसे तथा सहयोगापेक्षी व्यक्तिहरूको पहिचान गरी उद्धार गर्दै आएको छ। रातिको समयमा वास्तविक सहयोग आवश्यक पर्ने व्यक्तिहरू बढी भेटिने भएकाले सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको आश्रमले जनाएको छ। रात्रिकालीन सडकसेवामा आश्रमका अभियन्तासँगै नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहँदै आएको छ। आश्रमद्वारा जाडोयाम नजिकिँदै गर्दा सडकपेटीमा बस्न बाध्य व्यक्तिहरूलाई उद्धार गर्दै सुरक्षित आश्रय र सम्मानजनक जीवन प्रदान गरिँदै आएको छ। शनिबारको सडकअवलोकन र उद्धार कार्य अन्य दिनको तुलनामा सहज हुने भएकाले अभियान नियमित रूपमा जारी राखिएको छ। यसले जनप्रतिनिधि र सुरक्षा निकायलाई जोखिमपूर्ण अवस्थाका बीच जीवनयापन गरिरहेका व्यक्तिहरूको वास्तविक अवस्था बुझ्न मद्दत पुर्‍याउँछ र सम्बन्धित निकायको जिम्मेवारी सुनिश्चित गर्न अवसर प्रदान गर्छ। हरेक शनिबार सञ्चालन हुने यस्तो अभियानले सडकमा सहयोगापेक्षी व्यक्तिहरूको संख्या घट्दै गएको देखिन्छ। मानवसेवा आश्रमले २०८२ भित्र नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित सडकमानवमुक्त देश’ बनाउने लक्ष्यसहित रात्रिकालीन सडकसेवा अझ तीव्र बनाउँदै लगिरहेको छ।
सम्बन्धित खबर