झापा/ झापाको मेचीनगर नगरपालिकामा ३४औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।

मंगलबार बिहान धुलाबारी चोक बाट शुरुआत भएको प्रभातफेरि र्याली खहरेडाँडी हुँदै कृषि विकास बैंक परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले १६ दिने अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको जानकारी दिनुभयो। विगतमा काकडभिट्टामा आयोजना हुने कार्यक्रम यस वर्ष धुलाबारीमा आयोजना गरिएको उल्लेख गर्दै उनले यस्ता अभियानहरूको परिणाम तथ्याङ्कले बताउने पनि बताउनुभयो।

‘मौनता तोडौँ, लैङ्गिक हिंसा विरुद्ध बोलौँ, उजुरी गरौँ, प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ, शून्य सहनशीलता अपनाऔँ’जस्ता नारासहित प्रभातफेरि र्याली निकालिएको थियो।

यो अभियान नगरपालिका निरन्तर अघि बढाउने नगरप्रमुखले जनाउनुभयो।

सभालाई सम्बोधन गर्दै उपप्रमुख मीना पोखरेल उप्रेतीले लैङ्गिक हिंसा महिलामात्र होइन, पुरुषहरू पनि समान रूपमा प्रभावित हुने भएकाले यसको समाधानका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

र्यालीमा नगरका सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, नगरप्रहरी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै अग्रज सञ्चारकर्मी मोहनकाजी न्यौपानेले समाजमा लैङ्गिक हिंसा रोक्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको अभियानको पहिलो दिन हस्ताक्षर कार्यक्रम र प्रभातफेरिसहितको र्यालीले समाज रूपान्तरणका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

सभालाई सम्बोधन गर्दै ‘असल मित्र नेपाल’का अध्यक्ष रमेश गुरुङले १६ दिनसम्मको अभियान घर–घरमा पुर्याउन सबै सामाजिक संघ–संस्थाको सक्रिय पहल जरुरी भएको बताउनुभयो।

प्रभातफेरि पछि आयोजना गरिएको कोणसभाको सञ्चालन तथा सहजीकरण मेचीनगर नगरपालिका महिला विकास अधिकृत जयन्ती खरेलले गर्नुभएको थियो।

१६ दिने अभियानअन्तर्गत मंसिर १० गते कक्षा १२ का विद्यार्थीहरूका लागि साइबर क्राइमसम्बन्धी प्रशिक्षण, मंसिर ११ गते सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीका लागि युवा पुस्तासम्बन्धी वक्तृत्वकला प्रतियोगिता, मंसिर १४ गते मुस्लिम तथा दनुवार समुदायका महिलाहरूलाई लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण, मंसिर १५ गते कलेज तहका विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एचआईभी/एड्ससम्बन्धी सचेतना,

मंसिर १७ गते विश्व अपाङ्गता दिवसको अवसरमा १५ वटै वडाका ‘मिलीजुली समूह’सँग विभिन्न खेलकुद तथा प्रतियोगितात्मक गतिविधि, मंसिर २२ गते ‘मर्यादित महिनावारी दिवस’का दिन वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूसँग अन्तरक्रिया कार्यक्रम तथा १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकसँग छलफल कार्यक्रम सञ्चालन गरिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ।











