मङ्गलवार, मंसिर १०, २०८२
Sancharmanch

शिवसताक्षीमा कांग्रेसको आयोजनामा बृहत् निशुल्क स्वास्थ्य शिविर: १४ सय नागरिकले पाए सेवा

सोमवार, मंसिर ९, २०८२

झापा/ झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजना तथा नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो।


शिविर आयोजनाका लागि नोवेल अस्पताल र यसका सञ्चालक डा. सुनिल शर्मालाई धन्यवाद दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महासमिति सदस्य भक्ति प्रसाद सितौलाले यस प्रकारका कार्यक्रम सरकारको तर्फबाट पनि आयोजना हुनुपर्ने बताउनुभयो।

शिविरमा जेनरल फिजिसियन विभाग, मुटु, इसिजि, इको, हार्ट जोर्नी तथा नसासम्बन्धी सेवा, कान–नाक–घाँटी, छाला रोग, मानसिक रोग, बाल रोग, दन्त रोग, आँखा, जेनरल सर्जरी, प्रसूति, स्त्रीरोग, भिडियो एक्स–रे, इसीजी र ल्याब सेवा लगायतका सेवा उपलब्ध थिए।


विभिन्न पार्टीहरूले सभा, सम्मेलन, र्‍याली लगायतका गतिविधि सञ्चालन गरिरहँदा नेपाली कांग्रेस शिवसताक्षीले भने आम नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर शिविर आयोजना गर्नु एउटा सन्देशको रूपमा समेत हेरिएको छ।


ग्रामीण दुर्गम क्षेत्रमा बस्ने नागरिकहरूका लागि शिविर आयोजना गरिएको नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाका नगर सभापति अशोक बस्नेतले बताउनुभयो।

विपन्न नागरिकका लागि शिविर एक वरदानको रूपमा रहेको देखिन्छ। शिविर आयोजना गरेर नगरका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएकोमा नेपाली कांग्रेस नगर कार्यसमिति र नोवेल अस्पताललाई शिवसताक्षी नगरपालिका–६ का अध्यक्ष मनोज खुलाल कार्कीले धन्यवाद दिनुभयो।

समाजसेवी तथा सामाजिक व्यक्तित्व तथा महिला नेतृ खनिमाया श्रेष्ठको पहलमा सञ्चालन गरिएको शिविरमा नगरभरिका नागरिकले सेवा लिएको बताइएको छ।


नोवेल मेडिकल कलेजबाट प्रदान हुने अधिकांश सेवा शिविरमै उपलब्ध गराइएको नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकारी नवीन दाहालले बताउनुभयो।

‘स्वास्थ्य सबैका लागि, कांग्रेस तपाईँको साथमा’ भन्ने मूल नारासहित सञ्चालित एकदिवसीय शिविरले विपन्न नागरिक, जो नोवेल मेडिकल कलेज विराटनगरसम्म पुगेर सेवा लिन नसक्ने अवस्थामा थिए, उनीहरूलाई सहज रूपमा सेवा दिएको बताइएको छ।


यस शिविरबाट नगरको वडा नं. ६ मा आएर समय र परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसले आयोजना गरेको शिविरबाट विपन्न समुदायका नागरिकले सहज सेवा लिएको शिवसताक्षी नगरपालिका–३ का अध्यक्ष भास्कर न्यौपानेले बताउनुभयो।

शिविरले नगरका सबै वडाका नागरिकलाई सेवा पुर्याएको बताइएको छ।


अस्वाभाविक रूपमा टाउकोमा समस्या देखिएका एकजना विपन्न परिवारका ३ महिनाका नवजात शिशुको समेत शिविरमार्फत नोवेल मेडिकल कलेजको तर्फबाट भारी छुटसहित उपचार हुने बताइएको छ।


शिविरमा १०० वर्षदेखि ३ महिना उमेरसम्मका नागरिकले सेवा लिएको जनाइएको छ।
१ हजार ३ सय ५० जना आम नागरिक र ५० जना बालबालिकासहित कुल १ हजार ४ सय जनाले सेवा लिएको बताइएको छ।

शिविरमा बद्री गिरी, देवानन्द झा (१० हजार बराबर), सूर्य दाहाल विराटनगर, शिवसताक्षी–११ दुधेको रितु फार्मेसीका सञ्चालक कृष्ण कुमार सुवेदी, नेविसंघ केन्द्रिय सदस्य भुवन बुढाथोकीलगायतबाट औषधि व्यवस्थापनमा सहयोग भएको बताइएको छ।


कार्यक्रम नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।


कांग्रेसका नगर कार्यसमिति पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, महिला समितिका प्रमुख तथा पदाधिकारी तथा आम नागरिकको उपस्थिति रहेको कार्यक्रम नगर सचिव होम दुलालले सञ्चालन गर्नुभयो।


नोवेल मेडिकल कलेजले स्वास्थ्य सेवा सहित थुप्रै मानवीय सहयोगका कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ।

सम्बन्धित खबर