झापा / भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको समन्वयमा आइतबारबाट झापा जिल्लाका १५ वटै स्थानीय तहहरूमा खोरेत रोग विरुद्धको खोप कार्यक्रम अभियानको रूपमा सुरु भएको छ ।

खोप कार्यक्रम भद्रपुर नगरपालिकाबाट जिल्लामा पहिलो पटक उद्घाटन गरी शुभारम्भ गरिएको हो । त्यसलगत्तै झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ बाट पनि कार्यक्रमको शुभारम्भ गरिएको छ । विभिन्न रोग विरुद्धको भ्याक्सिन कार्यक्रम समय–समयमा सञ्चालन हुने गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. गंगाराम यादवले बताउनुभयो ।

पछिल्लो समय पशुसँग सम्बन्धित देखिने रोगहरूका कारण समस्या उत्पन्न भएको हुँदा झापा जिल्ला पनि खोरेत रोगका दृष्टिकोणबाट जोखिमपूर्ण जिल्लाको रूपमा लिइने गरिएको छ ।

खोरेत रोग विरुद्धको खोप व्यवस्थित गर्न एपमार्फत डाटा सुरक्षित गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले बताउनुभयो ।

सरकारले कृषकहरूले पालन गरेका चौपाया पशुहरूको सुरक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै खोरेत रोग विरुद्धको खोप कार्यक्रम यसै अन्तर्गत ग्रामीण स्तरसम्म पुगेको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

खोरेत रोग विरुद्धको निशुल्क खोप लगाऔँ, पशुजन्य पदार्थको निर्यातमा टेवा पुर्याइ कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ भन्ने मूल नाराका साथ खोप कार्यक्रम सञ्चालनमा रहेको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा आइतबारदेखि खोप कार्यक्रम सञ्चालनमा आएको बताइएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट खोप कार्यक्रमका लागि समन्वय र सहजीकरणका साथ बजेट व्यवस्था गरिएको बताइएको छ । बुद्धशान्ति गाउँपालिकामा वडा नं. ६ बाट भ्याक्सिन सुरु गरी सम्पूर्ण वडाहरूमा पुर्याइने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख कैलाश प्रसाद सिंहले बताउनुभयो ।

कृषकहरू पशुमा लाग्ने रोगका कारण मर्कामा परेको बताउँदै, यसलाई समयमै रोकथाम गर्न सके उत्पादनमा वृद्धि हुने मात्र होइन, उत्पादित पशुजन्य सामग्रीहरूको सहज बजारिकरण हुने देखिन्छ । हरेक रोग विरुद्धको खोप कार्यक्रम ग्रामीण स्तरसम्म पु¥याउने अभियान निरन्तर सञ्चालन हुन आवश्यक रहेको शान्तिनगर कृषि सहकारीका अध्यक्ष दिलनाथ काफ्लेले बताउनुभयो ।

खोरेत रोग (खुरफुट्टा) जनावरहरू — गाई, भैंसी, भेडा, बाख्रा, बंगुरजस्ता घरपालुवा जनावर र जङ्गली जनावरहरू — मृग, हरिण प्रजातिहरू, बँदेलहरूमा एक किसिमको अत्यन्तै छिटो फैलने र मुख्यगरी पशुहरूमा अत्यधिक मात्रामा ज्वरो आउने, र्याल काढ्ने, दूध उत्पादन घटाउने, हिँड्डुल गर्न गाह्रो हुने, खोच्याउने जस्ता लक्षणहरू देखाउने र धेरै छिटो लामो दूरीसम्म फैलिन सक्ने सीमाविहीन रोग भएकाले खोप अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरूले चासोका साथ सहयोग गर्न आवश्यक देखिएको छ । खोप कार्यक्रममार्फत सेवा पाएका पशुहरूको रेकर्ड अनलाइन प्रविधिअनुसार एपमार्फत राखिने बताइएको छ ।










