सोमवार, कार्तिक २५, २०८२
Sancharmanch

भद्रपुर नगरपालिकाबाट खोरेत रोग विरुद्धको खोप कार्यक्रम सुरु

आइतवार, कार्तिक २४, २०८२

झापा/ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको समन्वयमा आइतबारबाट झापा जिल्लाका १५ वटै स्थानीय तहहरूमा खोरेत रोग विरुद्धको खोप कार्यक्रम अभियानको रूपमा सुरु भएको छ ।

खोप कार्यक्रम भद्रपुर नगरपालिकाबाट जिल्लामा पहिलो पटक उद्घाटन गरी शुभारम्भ गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलले पछिल्लो समय पशुसँग सम्बन्धित देखिने रोगहरूका कारण समस्या उत्पन्न भएको हुँदा झापा जिल्ला पनि खोरेत रोगका दृष्टिकोणबाट जोखिमयुक्त जिल्ला रहेको बताउनुभयो । पशुजन्य उत्पादनमा यस रोगले प्रभाव पार्ने भएकाले सबैले सचेत भएर कार्यक्रम सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

खोरेत रोग विरुद्धको निशुल्क खोप लगाऔँ, पशुजन्य पदार्थको निर्यातमा टेवा पुर्याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ भन्ने मूल नाराका साथ खोप कार्यक्रम सञ्चालनमा रहेको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा आइतबारदेखि खोप कार्यक्रम सञ्चालनमा आएको बताइएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट खोप कार्यक्रमका लागि समन्वय र सहजीकरणका साथ बजेट व्यवस्था गरिएको बताइएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. गंगाराम यादवले विशेष गरेर गाई–बस्तुमा लाग्ने खोरेत रोग सरुवा रोग भएको र यसले ठूलो क्षति पुर्‍याउने बताउनुभयो ।

झापा जिल्लामा खोरेत रोग विरुद्धको खोप भद्रपुर नगरपालिका वडा नं. १० मा रहेको घिमिरे कृषि फर्मबाट शुभारम्भ गरिएको छ ।

जिल्लाका १५ वटै पालिकाहरूले आफ्ना अनुकूलका आधारमा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्रदेश सरकारले लजिस्टिक सहयोग गरेर आवश्यक सामग्री झापामा आइपुगेको साथै भ्याक्सिनेटर प्राविधिकहरूलाई केही असहज भएमा आफ्नो कार्यालय र सम्बन्धित पालिकाबाट समन्वय गरिदिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले बताउनुभयो ।

कृषकहरू पशुमा लाग्ने रोगका कारण मर्कामा परेको बताउँदै यसलाई समयमै रोकथाम गर्न सके उत्पादनमा समेत वृद्धि हुने भद्रपुर–१० मा घिमिरे कृषि फर्मका नामबाट व्यावसायिक गाईपालन गरिरहनुभएका युवा कृषि उद्यमी दिपेन्द्र घिमिरेले बताउनुभयो ।

खोरेत रोग (खुरफुट्टा) जनावरहरू — गाई, भैंसी, भेडा, बाख्रा, बंगुरजस्ता घरपालुवा जनावर र जङ्गली जनावरहरू — मृग, हरिण प्रजातिहरू, बँदेलहरूमा एक किसिमको अत्यन्त छिटो फैलने र मुख्यगरी पशुहरूमा अत्यधिक मात्रामा ज्वरो आउने, र्‍याल काढ्ने, दूध उत्पादन घटाउने, हिँड्डुल गर्न गाह्रो हुने, खोच्याउने जस्ता लक्षणहरू देखाउने र धेरै छिटो लामो दूरीसम्म फैलिन सक्ने सीमाविहीन रोग भएकाले खोप अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरूले चासोका साथ सहयोग गर्न आवश्यक देखिएको छ ।

खोप कार्यक्रममार्फत सेवा पाएका पशुहरूको रेकर्ड अनलाइन प्रविधिअनुसार एपमार्फत राखिने बताइएको छ ।

सम्बन्धित खबर