झापा/ झापाको विर्तामोडमा रहेको श्री मिलनसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट सेयर सदस्यहरूलाई सेयर रकमको १० प्रतिशत लाभांश प्रदान गर्ने समेत घोषणा गरिएको हो ।

सहकारीका अध्यक्ष लक्ष्मी प्रसाद बाँस्कोटाको अध्यक्षतामा सम्पन्न सभा नेपाल सरकार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको २०८२ भाद्र १७ गते जारी निर्देशन अनुसार सम्पन्न भएको थियो ।

सहकारी प्राधिकरणको निर्देशन अनुसार सञ्चालन हुने गरेको अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।

कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्य अविचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । पोखरेल ज्येष्ठ सदस्य मात्र हैन, बिर्तामोड नगरपालिका भित्रका एक सामाजिक तथा धार्मिक विकासका धरोहरका रूपमा समेत परिचित हुनुहुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सहकारीहरूमा समस्या देखिए पनि नियत सफा भएका सहकारीहरूले डराउनु नपर्ने बताउनुभयो ।

वि.सं. २०६६ साल चैत्र १५ गते ४१ जना सेयर सदस्यहरूबाट ४ लाख १० हजार रुपैयाँ सेयर सङ्कलन गरी सुरु भएको सहकारीले यस आर्थिक वर्षमा सेयर रकम रु. २ करोड २० लाख ६ हजार ८ सय पुर्याउन सफल भएको छ ।

संस्थाको मेरुदण्ड मानिने जगेडा कोष गत आर्थिक वर्ष २०८०/०८१ मा ५९ लाख ११ हजार ४ सय ५६ रुपैयाँ १० पैसा बाट वृद्धि गरी आर्थिक वर्ष २०८१/०८२ मा रु. ६ लाख ७४ हजार ५ सय २८ रुपैयाँ ५२ पैसा वृद्धि गरी कुल ६५ लाख ८५ हजार ९ सय ८४ रुपैयाँ ६२ पैसाको कोष स्थापना गरेको छ ।

सहकारीको उन्नयनमा कार्यसमितिले उत्कृष्ट कार्य गरिरहेको सहकारीका सल्लाहकार तथा पूर्व सचिव दिनोज शर्मा बजगाईँले बताउनुभयो ।

आर्थिक वर्ष ०८१/०८२ मा ४ करोड ६३ लाख ३५ हजार ९ सय ६७ रुपैयाँ ७६ पैसा निक्षेप मौज्दात रहेको जनाइएको छ ।

साधारण सभाबाट बचतकर्ताहरूका लागि विभिन्न आकर्षक ब्याजदर र सेवा सुविधाका भावी योजना तथा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सविता रिजाल, देवीमाया लिम्बु र कोमल देवी रजक रहनुभएको थियो । त्यस्तै बाल बचत तर्फ रिदम लावती, त्यसैगरी असल ऋणी तर्फ रिता लिम्बु, कमल विक्रम श्रेष्ठ र सोमलाल राजवंशी रहनुभएको थियो ।

त्यस्तै गरी सेयर सदस्यका छोरा–छोरी मध्येबाट एस.ई.ई. मा उत्कृष्ट जी.पी.ए. ल्याउने २ जना छात्र–छात्रा युनिस बाँस्कोटा र रिया खतिवडालाई नगद र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

त्यसै गरी उत्कृष्ट कर्मचारी तर्फ बजार प्रतिनिधि भावना खतिवडालाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष अजय कुमार देवले स्वागत गर्नुभएको साधारण सभा सहकारीका सचिव कैलाश पोखरेलले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम अर्जुनधारा ६ मातामण्दिर छेउमा रहेको सि.के चिन्तन प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो ।











