विर्तामोड, झापा/ समाजसेवाको उच्च भावनालाई व्यवहारमा रूपान्तरण गर्दै उर्जाशील रामधुनी आमा समूह, विर्तामोड, झापाले कार्तिक महिनाको मासिक कार्यक्रम अन्तर्गत विर्तामोड नगरपालिका वडा नं.४ स्थित स्नेहा माया घरमा आश्रित आमा–बुबाहरूलाई न्यानो कपडा, फलफुल र नगद सहयोग प्रदान गरेको छ । सोही अवसरमा समूहले तारा नमस्ते बालग्राममा रहेका बालबालिकाहरुलाई पनि फलफुल तथा आर्थिक सहयोग वितरण गरेको छ ।

कार्यक्रम संस्थाकी कार्यसमिति सदस्य समृद्धि लुइटेल थापाको पहलमा आयोजना गरिएको हो । संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालका अनुसार प्रत्येक महिनामा आयोजना हुने नियमित सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रमलाई विशेष बनाइएको थियो । उहाँले भन्नुभयो, “हामी प्रत्येक महिनामा कुनै न कुनै सामाजिक विषयमा काम गर्छौं । यसपटक समृद्धिजीको पहलमा स्नेहा माया घरका आमा–बुबा र तारा नमस्ते बालग्रामका बालबालिकासँग समय बिताउन पाउँदा निकै आत्मसन्तुष्टि मिलेको छ ।”

कार्यक्रम समृद्धि लुइटेल थापाका सुपुत्र वैभवजंग थापाको जन्मदिनको अवसरमा आयोजना गरिएको थियो । आफ्ना सन्तानको जन्मदिनलाई विलासी भोज वा खर्चिलो पार्टीका रूपमा नभई समाजमा उपयोगी योगदानका रूपमा मनाउने उद्देश्यले कार्यक्रम गरिएको समृद्धि लुइटेल थापाले बताउनुभयो ।

जन्मदिनलाई सामाजिक सेवा र मानवीय संवेदनासँग जोड्ने यो प्रयासलाई सहभागी संस्थाका सदस्यहरूले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा सहभागी तारा नमस्ते बाल ग्रामका अध्यक्ष यसोदा पोखरेल चापागाईंले समृद्धिलाई यस्तो अभियानलाई निरन्तरता दिन आग्रह गर्दै भन्नुभयो “जन्मदिन उत्सवको मात्र होइन, समाजमा राम्रो सन्देश दिने माध्यम पनि बन्न सक्छ । यस प्रकारको अभियानले बालबालिकामा असल अभ्यास र मूल्यको बीउ रोप्ने काम गगर्नेछ ।”

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी गुरुप्रसाद ओझाले झापाको विर्तामोड क्षेत्रमा दुईवटा वृद्धाश्रम स्थापना गरेर सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “पहिलो वृद्धाश्रम स्थापना गर्दा धेरैले आवश्यकता छैन भनेका थिए, तर बिस्तारै समुदायको माया र सहयोगले हामीले अर्को आश्रम पनि सुरु गर्नुपर्यो । अहिले वृद्ध आमा–बुबाहरूको माग अनुसार स्नेहा आश्रमको पनि सुरुवात गरिएको हो ।”

समाजसेवी राम पौडेलले उर्जाशील रामधुनी आमा समूहको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्दै समूह स्थापनाकालदेखि नै यसले सहयोग र मानवीय सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार, “यो समूहले प्रत्येक महिनामा कुनै न कुनै रुपान्तरणकारी कार्य गर्दै आएको छ — कहिले बालबालिकाको शिक्षा सहयोग, कहिले बृद्धाश्रममा सहयोग, कहिले विपन्न परिवारलाई राहत, दिनदुःखी विरामीहरुको सहयोग । यस्तो कार्यले विर्तामोडमा समाजसेवाको नयाँ संस्कार बसाल्दैछ ।”

कार्यक्रममा न्यानो कपडा, विभिन्न मौसमी फलफुल (केरा, स्याउ, सुन्तला आदि) र नगद सहयोग प्रदान गरिएको थियो । बालग्रामका बालबालिकाहरूलाई चकलेट र आर्थिक सहायता हस्तान्तरण गरिएको थियो । कार्यक्रमको वातावरण अत्यन्त आत्मीय र भावनात्मक थियो । कार्यक्रममा विर्तामोड नगरपालिकाका सामाजिक अभियन्ता, महिला समूहका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रम संस्थाकी सचिव निरा न्यौपाने कट्टेलले सञ्चालन गर्नुभएको थियो ।

जन्मदिनजस्तो व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने यस्तो अभ्यासले नयाँ पुस्तामा मानवता, सहानुभूति र सहयोगी भावना जागृत गराउने अपेक्षा गरिएको छ । हाम्रो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। उर्जाशील रामधुनी आमा समूहको मुख्य उद्देश्य नै समाजमा माया, स्नेह र एकताको भाव जगाउने रहेको छ । हामीले सन्तानलाई सानैदेखि साझा सुख र समाजसेवाको मूल्यबोध गराउनुपर्छ ।

यस्तो कार्यले उनीहरूमा सकारात्मक सोच र मानवतावादी भावना विकसित गछ । हामी सबै एकदिन यस्तै अवस्थाबाट गुज्रिन सक्छौं । आज हामीले उनीहरूलाई दिएको सानो सहयोग भविष्यमा हाम्रो लागि पनि उदाहरण बन्न सक्छ ।