झापा/ बुद्धशान्ति गाउँपालिकाको सेवा क्षेत्रभित्रका नागरिकलाई निशुल्क रगत उपलब्धता नभएको भन्दै सम्प्रेषित भ्रामक समाचारप्रति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले आपत्ति जनाउनुभएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्नो सेवा क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरूलाई नेपाल रेडक्रस सोसाइटीमार्फत निशुल्क रगत उपलब्ध गराउँदै आएको छ । हरेक वर्ष वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्था गर्दै निशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको हो ।

तर ‘बुद्धशान्ति साप्ताहिक’ नामक फेसबुक पेजमार्फत आम नागरिकलाई दिग्भ्रमित गर्नेगरी सम्प्रेषित भिडियो सामग्रीमार्फत गाउँपालिका अध्यक्षलाई जोडेर बदनाम गराउने अभिप्रायका साथ समाचार आएकोप्रति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले गम्भीर आपत्ति जनाउनुभएको छ ।

बुद्धशान्ति साप्ताहिकका सम्पादक रोशन भट्टराई र सह–सम्पादक सरोज निरौलाले विगत केही वर्षयता गाउँपालिकालाई बदनाम गराउने प्रकृतिका समाचार सामग्रीहरू सम्प्रेषण गर्दै आएका छन् ।

यसैगरी गत शुक्रबार पनि बुद्धशान्तिमा ‘रगतका लागि छुट्याइएको ५ लाख कसले चुस्यो’ भन्ने शीर्षकमा भट्टराईले फेसबुकमार्फत अर्को समाचार सम्प्रेषण गरेका थिए । यस विषयमा हामीले अध्यक्षसँग जानकारी लिँदै विर्तामोड पञ्चकन्यामा रहेको नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको ब्लड बैंकबाट आधिकारिकता बुझेका छौँ । ब्लड बैंकका कर्मचारीका अनुसार बुद्धशान्ति गाउँपालिकाका नागरिकहरूका लागि उपलब्ध गराउँदै आएको निशुल्क रगत उपलब्धताको कार्यक्रम निरन्तर रहेको बुझिएको छ ।

रगत उपलब्धता जस्तो संवेदनशील विषयलाई मजाक बनाउँदै बुद्धशान्ति साप्ताहिकका सम्पादक र सह–सम्पादक दुवैजनाले आम नागरिकमा भ्रम सिर्जना गर्नु विडम्बना भएको देखिन्छ। बुद्धशान्ति साप्ताहिक परिवारले नै रगत नपाएको भन्दै सम्प्रेषित समाचारमा भनेकोजस्तो गरी कसैले पनि ब्लड बैंकमार्फत रगत रकम तिरेर लगेको रेकर्ड नरहेको देखिन्छ ।

रगतको विषयलाई लिएर स्थानीय पदम प्रसाद खतिवडाको मोबाइल प्रयोग गरेर गाउँपालिका अध्यक्षलाई रगत नपाएको गुनासो गर्दै साप्ताहिकका सह–सम्पादक सरोज निरौलाले अध्यक्ष मनोज प्रसाईलाई कल गरेर रगत आवश्यक रहेको बताएका थिए । तर फोनधनी पदम प्रसाद खतिवडा यस विषयमा अनबिज्ञ रहेको बुझिएको छ । यस सम्बन्धमा फोनधनी खतिवडाले समेत आफ्नो फोन मिस–युज भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुद्धशान्ति गाउँपालिकाले विगत वर्षहरूदेखि निशुल्क रगत उपलब्ध गराउँदै आएको छ र यो हाल पनि कायम रहेको गाउँपालिका र रेडक्रस सोसाइटीले जनाएका छन् । भ्रामक समाचारप्रति सचेत रहन गाउँपालिकावासी आम नागरिकहरूलाई अनुरोध गर्दै गाउँपालिकाले रगतको सहज उपलब्धता रहेकै सन्दर्भमा कोही पनि नागरिकले खरिद गर्नुपर्ने अवस्था नरहेको र असहज परिस्थिति भएमा तत्काल जनप्रतिनिधिमार्फत गाउँपालिकामा जानकारी गराउन आम नागरिकहरूलाई आह्वान गरेको छ।