बुधवार, कार्तिक ६, २०८२
Sancharmanch

झापा गाउँपालिकामा बाढी पीडितलाई नेविसंघ र तरुण दलद्वारा राहत वितरण

बिहिवार, असोज ३०, २०८२
झापा/ केही दिन अघिको अविरल वर्षाका कारण झापा जिल्लामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । विशेषगरी झापा गाउँपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक भएको जनाइएको छ । बाढीका कारण घर डुबानमा परेका, खाद्यान्न अभावमा परेका तथा विस्थापित नागरिकहरूको पीडालाई केही हदसम्म कम गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलले संयुक्त रुपमा राहत वितरण गरेका छन् । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली कांग्रेस निकट दुबै युवा संगठनले झापा गाउँपालिकाका बाढी पीडितहरूलाई लक्षित गरी खाद्यान्न सामग्री वितरण गरेका हुन् । राहत वितरण कार्यक्रम स्थानीय सरकार, सुरक्षाकर्मीहरू र जनप्रतिनिधिहरूको रोहवरमा सम्पन्न भएको हो । सामग्री हस्तान्तरण कार्यक्रम झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरोकारवालाको उपस्थितिमा सम्पन्न गरिएको थियो । उनीहरूले राहत वितरणमा सक्रिय भूमिका निभाएका नेविसंघ र तरुण दलका युवाहरुको प्रयासको प्रशंसा गरेका थिए । राहत सामग्री व्यवस्थापन तथा वितरण कार्यमा नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेन्द्र उप्रेति, नेपाल विद्यार्थी संघ झापा अध्यक्ष संजय निरौला, सचिव गोकुल पौडेल लगायतको विशेष सक्रियता रहेको थियो । दुवै संगठनले राहत संकलनदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया स्वयं निगरानी गर्दै पीडित नागरिकसम्म सामग्री पुग्ने सुनिश्चित गरेका थिए । नेविसंघ र नेपाल तरुण दलले विभिन्न समयमा समाजिक उत्थान, विपद् व्यवस्थापन र जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएका छन् । यो पटकको राहत वितरण पनि त्यही निरन्तरताको एक उदाहरण भएको उनीहरूले बताएका छन् । स्थानीय नागरिकहरूले विपद्को घडीमा सहयोगको हात अघि बढाएकोमा दुवै संगठनप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले बाढीका कारण थुप्रै घरधुरी विस्थापित भएको र दैनिक गुजारामा समस्या परेको भन्दै राहत सामग्रीले केही समयको लागि राहत महसुस गराएको बताएका छन्। यस प्रकारका मानवीय कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवा संगठनहरूप्रति जनविश्वास बढाउने भन्दै स्थानीय स्तरमा यस अभियानको व्यापक सराहना भएको छ ।
सम्बन्धित खबर