बुधवार, कार्तिक ६, २०८२
Sancharmanch

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा सम्पन्न

मङ्गलवार, असोज २८, २०८२

झापा, विर्तामोड/सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको वनका अध्यक्ष कृष्ण प्रसाद लिम्बुको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाबाट सामुदायिक वन कार्ययोजना समेत पारित गरिएको छ।

साथै स्वतन्त्र लेखा परीक्षण प्रतिवेदन, उपभोक्ता समूहको ‘क’ वर्गको क्षेत्र विस्तार, वन समूहलाई आवश्यक मेसिनरी सामग्री खरिद गर्ने प्रस्ताव, सडक बत्ती मर्मत तथा विस्तार, सीसी क्यामेरा जडान, नेत्र पार्कमा निःशुल्क वाइफाइ व्यवस्थापन, पार्क व्यवस्थापनका लागि सरकारी निकायहरूमा बजेट माग गर्ने, मन्दिर पुनर्निर्माण, सिमसार क्षेत्रको वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि प्रस्ताव समेत पारित गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका वडा नं. ७ की वडा सदस्य हेमलता विश्वकर्माले कार्यक्रममा वडा अध्यक्ष पारिवारिक समस्याका कारण उपस्थित हुन नसकेको बताउँदै वनको क्षेत्रमा आफूहरू सँग धेरै ज्ञान नभए पनि वन क्षेत्रभित्र निर्माण हुने संरचना निर्माणमा वडासँगको समन्वयमा काम गर्न सके सबैलाई फाइदा पुग्ने बताउनुभयो।

वन समूहका अध्यक्ष कृष्ण प्रसाद लिम्बुले सामुदायिक वनले राजनीतिक पूर्वाग्रह नराखी काम गरिरहेको बताउँदै वन संरक्षणमा उपभोक्ताको सकारात्मक साथ र सहयोग प्राप्त भएको बताउनुभयो।

कनकाइ सबडिविजन वन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत सुरेन्द्र खनालले साधारण सभा वास्तवमा यस्तै हुने वताउदै वन क्षेत्र बाट ढुङ्गा गिटि उपभोगका सन्दर्भमा फरक नीति रहेको साथै लक्ष्मण रेखा बनाउन मिल्ने साथै सम्रचना निर्माणमा भने नीति बनाएर अगाडि बढाउनु पर्ने बताउनुभयो । वन संरक्षणमा उपभोक्ताको साथ सहयोग गर्नेगरेको बताउदै आफ्नो कार्यालय बाट सहयोग हुने पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस वडाका प्रतिनिधि सोमनाथ घिमिरेले वनमा पहिलादेखि नै मनोमानी भएको बताउँदै व्यक्तिको नाममा रहेको नेत्र पार्क होइन, सहिद पार्क बन्नु पर्नेमा जोड दिनुभयो।

नेकपा माओवादी केन्द्रका बुद्धिमान मुखियाले सामुदायिक वनको साधारण सभा हिजोको शैली र आजको शैली फरक भएको बताउँदै छिमेकी सामुदायिक वनले प्रतिनिधिमूलक रूपमा साधारण सभा गर्दै आएको र राजनीतिक पूर्वाग्रह नराखी वन समूहले काम गर्न प्रयास गरिरहेको बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति देवेंद्र खवासले साधारण सभा भव्य उपस्थितिसाथ सभ्य रूपमा सम्पन्न भएको बताउँदै राखिएका प्रस्तावहरू सर्वस्वीकृत रहेको बताउनुभयो।

राप्रपा जिल्ला सदस्य प्रेम थापाले वनको गतिविधि लगायतका विषयमा अध्यक्षको प्रतिवेदनमा उल्लेख भएको बताउँदै समितिले दायरा पनि बढाउन अनुरोध गर्दै वन समितिलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।

८३१ घरधुरी उपभोक्ता रहेको वन क्षेत्र ५९३.०७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वन उपभोक्ता समूहको सांगठनिक प्रतिवेदन अध्यक्ष कृष्ण प्रसाद लिम्बुले प्रस्तुत गर्नुभएको थियो। लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा परीक्षण समितिका संयोजक राम प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि विर्तामोड नगरपालिका वडा नम्बर ७ की वडा सदस्य हेमलता विश्वकर्मा, विशेष अतिथि कनकाई सब-डिभिजन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत सुरेन्द्र खनाल, अतिथि वन प्राविधिक खगेन्द्र निरौला लगायत कार्यक्रममा ६१ प्रतिशतभन्दा बढी उपभोक्ता सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमलाई समूहका उपाध्यक्ष मंगल सिंह सावाले स्वागत गर्नुभएको थियो भने

समूहकी सचिव इन्दिरा अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सम्बन्धित खबर