बिर्तामोड । अनारमनी सोसियल युथ क्लब, बिर्तामोड झापाको आयोजनामा
‘बिर्तामोड रन’ को चौथो संस्करण आयोजना हुने भएको छ ।

संस्करण सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको छ । सिलिकन एजुकेशन नेटवर्कको मुख्य प्रायोजन रहेको प्रतियोगिता आगामी कात्तिक १ गतेबाट सुरु हुने भएको हो ।

बिर्तामोड नगरपालिकासहित मेची आँखा अस्पताल र विभिन्न सामाजिक संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष राज मुखियाले बताउनुभयो ।

स्वास्थ्यका लागि खेलकुद, लैङ्गिक समानता र लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट” भन्ने मूल नारासहित हुने दौड सैनिक बजारबाट प्रारम्भ भई ठूटेबर, बिराट पोखरी हुँदै बिर्तामोड नगरपालिका कार्यालय अगाडि पुगेर सम्पन्न हुने, कार्यक्रम संयोजक संजय पौड्यालले जानकारी दिनुभयो ।

अनारमनी सोसियल युथ क्लबका सचिव रूपेश तिम्सिनाका अनुसार हालसम्म अनलाइन माध्यमबाट १ सयभन्दा बढीले दर्ता गरिसकेका छन् । दर्ता प्रक्रिया आगामी बिहीबारसम्म खुला रहने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी प्रतियोगिहरुका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स मार्फत अधिकतम रु १ लाख सम्मको दुर्घटना बीमा गरिएको बताइएको छ ।

त्यस्तै, पहिलो १०० जना दर्ता हुने सहभागीलाई निःशुल्क जर्सी उपलब्ध गराइने साथै रनमा सहभागि सवैलाई सहभागिता प्रमाणपत्र प्रदान गरिने संयोजक संजय पौड्यालले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता महिला तथा पुरुष दुवैलाई जनही २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

‘बिर्तामोड रन’ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न गर्न बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङले अनारमनी सोसियल युथ क्लबलाई शुभकामना दिनुहुँदै क्लवले समाज रुपान्तरणका क्षेत्रमा काम गरिरहेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

‘बिर्तामोड रन’ मार्फत समुदायमा खेलकुद र स्वास्थ्यप्रति जागरणका लागि सकारात्मक सन्देश प्रभाह गर्ने देखिएको छ । अनारमनी सोसियल युथ क्लबले आयोजना गर्न लागेको बिर्तामोड रन प्रतियोगिता सञ्चालन बाट बचेको रकमले लागुपदार्थ न्युनिकरणका क्षेत्रमा खर्च गर्ने बताएको छ ।