झापा/ झापाको कचनकवल गाउँपालिका वडा नं. ३ मा फैलिएको हरियालीको एउटा टुक्रा, दुर्गा भिट्टा सामुदायिक वन, आजभोली पर्यावरण संरक्षणको प्रतीक बनेको छ। कहिल्यै नथाक्ने समर्पण, सामूहिक प्रयास र प्रकृतिप्रतिको सम्मानको प्रतिफल हो यो वन। एक समय थियो, जब यहाँको जंगल जोखिममा थियो—अव्यवस्थित दोहन, जंगली जनावरको आतंक, र बिनाअनुमति जंगल छिर्ने मानिसहरूको कारण । तर अहिलेको दुर्गाभिट्टा फरक छ ।

बोटबिरुवाको छायाँमा शान्ति छ, सिमसार क्षेत्रमा चराचुरुङ्गीको कलरव छ, र बाँस, केरा, आउटेँगा जस्ता बनस्पतिले हात्तीहरूलाई धेरैहद सम्म जंगलमै रोक्छन् । यसले न केवल वन्यजन्तुको जीवन सुरक्षित राखेको छ, बरु मानवबस्तीलाई पनि सुरक्षाको ढोका खोलिदिएको छ ।

यो सामुदायिक वनका उपभोक्ताहरु सजग र सचेत भएका कारण वन संरक्षणमा महत्वपुर्ण काम गर्न सहज भएको दुर्गाभिट्टा सामुदायीक वनका अध्यक्ष धनराज गुरुङ बताउनुहुन्छ ।

यो परिवर्तन सम्भव भयो—सामुदायिक चेतना र सही व्यवस्थापनको कारण । दुर्गाभिट्टा सामुदायिक वन समितिले आफ्नो सीमाभित्र सोलार फेन्सिङ जडान गरेर जंगली जनावरलाई बस्तीभित्र पस्नबाट रोक्ने उपाय अपनायो । यसले गर्दा बस्ती र जंगलबीचको द्वन्द्व न्युनिकरण भएको छ ।

२४ घन्टा चोरी तस्करी हुने गरेको तर हाल यो ९५ प्रतिसत सम्म समस्याको समाधान भएको दुर्गाभिट्टा सामुदायिक वनका संस्थापक अध्यक्ष तथा फेकोफन झापाका सदस्य भिम प्रसाद लुइटेलले बताउनुभयो ।

वनभित्र पोखरी निर्माण गरिएको छ, जसले पानीको स्रोत मात्रै होइन, चराचुरुङ्गी, अजिङ्गर, र अन्य जीवजन्तुहरूका लागि बाँच्ने आधार बनाएको छ ।

सँगसँगै खुल्ला सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने सोच पनि सामुदायिक बनका अगुवाहरूले बोकेका छन् ।

ताल वरिपरिका हरियाली, बीचको टापु, र प्राकृतिक बनोटले पर्यटकलाई मन्त्रमुग्ध बनाउने सम्भावना छ । वरिपरिका अन्य सामुदायिक बनको तुलनामा दुर्गाभिट्टा सामुदायिक वन २ कदम अगाडि रहेको नियमित १९ नम्बर गस्तिका सम्योजक धनबहादुर पाण्डे बताउनुहुन्छ ।

दुर्गाभिट्टाले केवल काठ बिक्री गरेर आम्दानी गर्ने पुरानो अवधारणालाई तोड्दै आएको छ । आज यहाँ बृक्षारोपण, सरसफाइ, औषधीय बिरुवा संरक्षण, र बेसार खेतीजस्ता बहुपक्षीय गतिविधिहरू संचालनमा छन् । वनभित्र अमला, लटहर, बन कटहर, मालागिरि, बन लिचि, बाँदरझुला, बन सुन्तला, साइकस, थाकल, सुनाखरीजस्ता दुर्लभ र उपयोगी बनस्पतिहरू पाइन्छन् । यी केवल वनको शोभा होइनन्, स्थानीय समुदायको जीवनसँग पनि गहिरो सम्बन्ध राख्छन् ।

जलथल बनमा नेपालमा पाइने ६ सय प्रजातिका बोटविरुवा मध्येका १५० प्रजातिका बोटविरुवाहरु यस बनमा प्राप्त हुने दुर्गाभिट्टा सामुदायिक वनका संस्थापक अध्यक्ष तथा फेकोफन झापाका सदस्य भिम प्रसाद लुइटेलले बताउनुभयो ।

दुर्गाभिट्टा सामुदायिक बन अब केवल बन होइन, शिक्षा, पर्यटन र संरक्षणको जीवित प्रयोगशाला बनाउन सकिने सम्भावना देखिन्छ, जस्ले बन बिज्ञान अध्ययन गर्नेहरुका लागि कम्पिट प्याकेजका आधारहरु तयार गरिसकेको छ । यस क्षेत्रमा निर्माण भएको सोलार फेन्सिङ अत्यन्त प्रभावकारी रुपमा काम गरिरहेको छ । जस्का लागि सामुदायिक वनले काम गरिरहेको दुर्गाभिट्टा सामुदायीक वनका अध्यक्ष धनराज गुरुङ बताउनुहुन्छ ।

जब बिहानिको घाम झुल्किन्छ, सिमसार क्षेत्रमा चराहरूको गीत गुञ्जन्छ, र बोटविरुवाको सुवासले जंगल रमाइलो बनाउँछ । हात्तीहरू जंगलमै रमाउँछन्, मानव बस्तीहरू सुरक्षित छन्, र स्थानीयहरूलाई रोजगारी र आत्मगौरव मिलेको छ । यस क्षेत्रका युवाहरूले दुर्गाभिट्टाको संरक्षणलाई आफ्नो अभियानका रुपमा अगाडि बढाउनु भएको छ । सामुदायिक वनले आयको १० प्रतिसत कर तिर्ने गरेको बताउँदै बन भित्रको पर्यावरण संरक्षणमा चासो दिनुपर्ने साथै परापर्यटन विकासमा जोड दिनुपर्ने तर हाल सम्म कहिँ कतै वाट सहयोग प्राप्त नभएको दुर्गाभिट्टा सामुदायिक वनका संस्थापक अध्यक्ष तथा फेकोफन झापाका सदस्य भिम प्रसाद लुइटेलले बताउनुभयो ।

दुर्गाभिट्टा सामुदायिक वनका सदस्यहरुले केवल बन मात्र जोगाउनु भएको छैन । आफ्नो भविष्य निर्माणमा चासोकासाथ काम गरिरहेको छ ।

दुर्गाभिट्टा सामुदायिक बन, अब केवल झापाको वन क्षेत्र होइन, नेपालकै उत्कृष्ट सामुदायिक बनहरूको एक नमूना बन्ने निचित छ ।