शनिवार, वैशाख २६, २०८३
Sancharmanch

मेडिकल विज्ञानका विद्यार्थी : परम्परा, विश्वास र धामी सेवाभावलाई सँगै अघि बढाउँदै एक युवा गौरव सुवेदी

Posted by:
शनिवार, वैशाख २६, २०८३
झापा, बाह्रदशी / झापा जिल्लाको बाह्रदशी गाउँपालिकाका २० वर्ष नकटेका युवा गौरव सुवेदी पछिल्लो समय गाउँघरमा फरक पहिचानका साथ चर्चामा छन् । [caption id="attachment_178325" align="alignnone" width="224"] Screenshot[/caption] उमेरले युवा पुस्ताका प्रतिनिधि मानिने गौरव एकातिर मेडिकल साइन्सका विद्यार्थी हुन् भने अर्कोतर्फ परम्परागत धामी–झाँक्री अभ्यासमार्फत स्थानीय समुदायमा सेवाभावले परिचित बनेका छन् । आधुनिक चिकित्सा विज्ञान अध्ययन गरिरहेका एक युवाले धार्मिक तथा सांस्कृतिक अभ्यासलाई पनि सँगै अघि बढाइरहेको विषयले धेरैको ध्यान खिचेको छ । ग्रामीण परिवेशमा हुर्किएका गौरव ब्राह्मण समुदायका युवा हुन् । परिवार तथा समाजबाट प्राप्त धार्मिक संस्कार र स्थानीय परम्पराको प्रभावका साथै अलौकिक शक्तिकाकारण उनी धामीको रुपमा परिचित छन् । आफ्ना देवी–देवताको आराधना गर्दै मुन्धुम तथा धार्मिक अनुष्ठान सुरु गर्ने गौरवले आफूलाई परम्परागत विश्वासको निरन्तरताका रूपमा अघि बढाइरहेको देखिन्छ । “धामी हुनु भनेको रोग हटाउने होइन, आत्मा जगाउने हो । जहाँ औषधि शरीरलाई निको पार्छ, मन्त्र मनलाई शान्त पार्छ ।” साथै, उनी कर्मकाण्ड, वेद र संस्कृत अध्ययनमा पारंगत छन्। बाल्यकालदेखि नै संस्कृत अध्ययन गर्दै आएका गौरव अहिले अथर्ववेद (ब्तजबचखबखभमब) अध्ययनमा गहिरो रूपमा संलग्न छन् । उनी वेदलाई केवल धर्मग्रन्थ होइन, “जीवन–विज्ञान” मान्छन् — जहाँ मन्त्र, चेतना र प्रकृतिको गहिरो सम्बन्ध छ । संगीत पनि गौरवको जीवनको अर्को आयाम हो । उनले हारमोनियमको अभ्यासमार्फत स्वरलाई साधनामा रूपान्तरण गरेका छन्। उनका अनुसार, “संगीत भनेको आत्माको उपचार हो — जहाँ धुन मन्त्र बन्छ।” गौरव सुबेदीको दर्शन सधैं यही वाक्यमा समेटिन्छ “सोच नयाँ, संस्कार पुरानो ।” उनका लागि आधुनिकता भनेको परम्परा तोड्नु होइन, परम्परालाई ज्ञानका माध्यमबाट अझ उच्च बनाउनु हो । विभिन्न शारीरिक तथा मानसिक समस्या लिएर आउने व्यक्तिहरू गौरवकहाँ पुग्ने गरेका छन् । कतिपयले सामान्य पूजापाठ, फुकफाक वा धार्मिक परामर्शपछि मानसिक सान्त्वना मात्र होइन पिडा बाट मुक्ति भएको महसुस गर्ने बताएका छन् । यद्यपि गौरवले बिरामीलाई अस्पताल वा स्वास्थ्य संस्थाको विकल्पका रूपमा आफूलाई प्रस्तुत गरेकाछैनन् । बरु प्रारम्भिक धार्मिक विधिपछि आवश्यकता अनुसार अस्पताल जान सुझाव दिने गरेकाछन् । गौरवको कार्यशैलीलाई धेरैले सकारात्मक रूपमा हेर्ने एउटा कारण उनी अन्धविश्वास, डर वा भ्रम फैलाउने गतिविधिबाट टाढा रहनु पनि हो । धामी–झाँक्रीको नाममा विभिन्न चमत्कारिक दाबी, देखावटी प्रदर्शन वा मानिसलाई दिग्भ्रमित पार्ने अभ्यासबाट उनी अलग रहेका कारण विभिन्न समयमा आफुलाई ठुलै धामि हुँ भन्नेहरुको प्रहार बाट पनि अबिचल्लित छन् । बरु सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सेवाभावलाई केन्द्रमा राखेर काम गरिरहेका छन् । नेपालका ग्रामीण क्षेत्रमा धामी–झाँक्री परम्परा ऐतिहासिक रूपमा गतिलो विश्वासको जरा गाडेर बसेको छ । कुनै समय गाउँघरमा स्वास्थ्य चौकी, अस्पताल तथा दक्ष स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामी उपचारका लागि धामी–झाँक्री नै पहिलो विकल्प हुने गथ्र्यो । समय परिवर्तनसँगै ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य संस्थाको पहुँच विस्तार भए पनि धेरै समुदायमा परम्परागत विश्वास भने अझै कायम रहेको देखिन्छ । विशेषगरी मानसिक तनाव, डर, बेचैनी तथा सांस्कृतिक विश्वाससँग जोडिएका समस्यामा स्थानीय समुदायले अझै पनि धार्मिक विधि तथा धामी अभ्यासलाई मनोवैज्ञानिक सहाराका रूपमा लिने गरेको बताइन्छ । यही सामाजिक यथार्थबीच गौरवजस्ता युवाले आधुनिक शिक्षा र परम्परागत अभ्यासबीच सन्तुलन कायम गर्न खोज्नु प्रशंसनिय कदमको रुपमा लिन सकिन्छ । वर्षमा दुई पटक मनाइने उभौली र उधौली पर्वका अवसरमा गुरु पूजा आयोजना गरी नयाँ धामीलाई दियो–बाती दिने परम्परा नेपाली समाजमा आज पनि जीवित छ । यही परम्पराअनुसार गौरवले पनि नयाँ धामीका रूपमा उदाएका युवाहरूलाई मार्गदर्शन गर्ने, गुरु परम्पराको सम्मान गर्ने तथा धार्मिक अभ्यासलाई संस्कृतिको हिस्साका रूपमा जोगाउने प्रयास गरिरहेको देखिन्छ । गौरवको मन्दिर परिसरमा दैनिकजसो मानिसहरूको चहलपहल देखिने गरेको स्थानीय बताउँछन् । स्वास्थ्य समस्या, मानसिक असहजता वा व्यक्तिगत दुःख–कष्ट लिएर आउनेहरूलाई उनी धैर्यपूर्वक सुन्ने र आवश्यक सुझाव दिने गरेका छन् । यसले स्थानीयमा उनीप्रति विश्वास बढाएको छ । आधुनिक शिक्षा अध्ययन गर्दै परम्परा र संस्कृतिलाई पनि सम्मानसाथ अघि बढाइरहेका गौरव सुवेदी अहिले बाह्रदशी क्षेत्रमा सामाजिक विश्वास, सांस्कृतिक निरन्तरता र सेवाभावको एउटा उदाहरणका रूपमा चिनिन थालेका छन् । युवा पुस्ताले आफ्नो पहिचान खोज्ने क्रममा परम्परा र आधुनिकताबीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने सन्देश उनको यात्राले दिएको स्थानीयको बुझाइ छ ।
सम्बन्धित खबर