विर्तामोड, असोज ३/ आज संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले विर्तामोडमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘संविधानको रक्षा गरौं, प्रेस स्वतन्त्रता जिन्दावादं’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी कार्यक्रम विर्तामोडको मुक्तिचोकबाट सुरु भई अदुवाखोला, पूर्व पुरानो इलाम स्ट्यान्ड हुँदै पुनः मुक्तिचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा विर्तामोडमा क्रियाशील विभिन्न संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीहरुको उल्लेखनीय सहभागिता थियो । सहभागिहरूले लोकतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न प्लेकार्ड र नाराबाजीसहित र्यालीमा सक्रिय उपस्थिति जनाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संविधानको कार्यान्वयनमा सञ्चारमाध्यमको भुमिका अझै सशक्त बन्नुपर्ने बताउनुभयो । जेनजि पुस्ताको आन्दोलनमा दिवंगत भएका शहिदहरुको स्मरण गर्दै “प्रेस स्वतन्त्रतासँग सँगै संविधानलाई समयानुकुल संसोधन गरेर अगाडि वढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालले नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता एक आपसमा जोडिएको विषय भएकाले जेन जि आन्दोदन बाट उठेका सवालहरुको सम्बोधन गर्दै संसोधन गरि परिस्कृत संविधान निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले संविधान दिवस केवल औपचारिकता नभइ चेतनामूलक अभ्यास हुनुपर्नेमा जोड दिनुभयो । “पत्रकारिताले संविधानको रक्षा गर्न सक्ने ठाउँमा कहिल्यै पछि हट्न हुँदैन, भन्दै उहाँले संविधानको संसोधन गरेर देशलाई निकास दिनुपर्ने साथै जेनजि आन्दोलनले एउटा परिवर्तनको ढोका खुलेको बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मी, समाजसेवी र अन्य सरोकारवाला निकायको उत्साहजनक सहभागिता रहेको थियो । संविधान दिवसको अवसरमा आयोजित यस्तो प्रभातफेरीले विर्तामोडमा लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्काएको सहभागीहरूको भनाइ थियो । संविधान प्राप्तीका लागि लामो समय सम्म संघर्ष गर्नु परेको बताउँदै महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले दुइ पटक सम्मको निर्वाचन पछि संविधान प्राप्त भएको स्मरण गराउनुभयो ।

कार्यक्रमको समापन कोणसभामार्फत गरिएको थियो, जसमा वक्ताहरूले संविधानको कार्यान्वयन, प्रेस स्वतन्त्रता र मानव अधिकारको सुनिश्चितता प्रति सबै सचेत रहनुपर्नेमा जोड दिनुभएको थियो । यस्ता कार्यक्रमहरूले नागरिकमा संवैधानिक मूल्य र जनउत्तरदायित्व बारे जागरूकता फैलाउने देखिन्छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव राजु पाठकले सञ्चालन गर्नु भएको थियो ।