विर्तामोड, झापा / विर्तामोड नगरपालिका वडा नं. २ मा अवस्थित राधाकृष्ण कीर्तन मण्डलीद्वारा विजया दशमी तथा शुभदीपावली २०८२ को अवसरमा शनिबार एक भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले धर्म, संस्कार, संस्कृतिको संरक्षणमा हामी सबैको चासो हुनुपर्ने बताउनुभयो ।

सांस्कृतिक र धार्मिक सद्भावका साथै सामाजिक एकता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। आफुले यस संस्थालाई ठूलो सहयोग प्रदान गर्न नसकेपनि आफू सम्मानित भएको उल्लेख गर्दै, सबै सुझबुझ भएको नागरिक हुनुपर्ने कार्यक्रमका अध्यक्ष तथा समाजसेवी हरिप्रसाद ओझाले स्मरण गराउनुभयो ।

कार्यक्रमको अध्यक्षता समाजसेवी हरिप्रसाद ओझाले गर्नु भएको थियो भने विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो ।

सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमले समाजमा मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने देखिएको विर्तामोड नगरपालिका वडा नं. २ का सदस्य तिला गौतमले बताउनुभयो ।

कार्यक्रमको आरम्भ स्वागत नृत्य तथा पारम्परिक संगिनी नृत्यद्वारा गरिएको थियो, जसले दर्शकलाई धार्मिक र सांस्कृतिक परिवेशले उत्साही बनाएको थियो ।

संगिनी नृत्यपछि अन्य विभिन्न सांस्कृतिक प्रस्तुति, भजन कीर्तन तथा लोकनृत्यहरू प्रस्तुत गरिएको कार्यक्रममा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो, जसले माहोल झनै उल्लासमय बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले कार्यक्रमका अध्यक्ष हरिप्रसाद ओझालाई कुशल नेताका रूपमा आम नागरिकले चिनेको उल्लेख गर्दै नेपाल विविध जातजाति र भौगोलिक अवस्थिति रहेको देश भएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संस्कृति संरक्षण, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको विषयमा जोड दिनुभएको थियो ।

स्थानीय शिक्षक, व्यापारी, समाजसेवी, युवाहरू तथा महिला समूहका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिँदै कीर्तन मण्डलीको निरन्तर सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्नुभएको थियो । वर्तमान परिस्थितिमा परम्परागत संस्कार संस्कृतिको संरक्षणमा राधाकृष्ण कीर्तन मण्डली लागि परेकोमा पूर्व शिक्षक तथा स्थानीय कृष्ण ओझाले खुसी व्यक्त गर्नु भयो ।

राधाकृष्ण कीर्तन मण्डली स्थापना भएको इतिहास स्मरण गराउँदै यस संस्थाले हरेक वर्ष यस किसिमको कार्यक्रम आयोजना गरेर समाजमा धार्मिक चेतनाको स्तर बढाउन विभिन्न कार्य गरिरहेको छ। धर्म र संस्कार संरक्षणमा यस कीर्तन मण्डलीले महत्वपूर्ण भूमिका खेलेको भन्दै जगदम्बा कीर्तन मण्डलीका कोषाध्यक्ष टिकाराम खनालले खुसी व्यक्त गर्नुभयो ।

शुभकामना आदान–प्रदान कार्यक्रमलाई अझ रंगीन बनाउन आयोजक मण्डलीद्वारा विभिन्न कीर्तन मण्डलीहरूलाई सम्मान गर्ने कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूमाझ विजयादशमी तथा दीपावलीको विशेष शुभकामना समेत आदान–प्रदान गरिएको थियो । कीर्तन मण्डलीले आयोजना गरेको कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्थानीय समाजसेवी कृष्ण भण्डारीले घर–घरमा गरिने कीर्तन कार्यक्रम घरमा ठाउँ नभए कार्यक्रम आयोजना गरिएको स्थानमा आएर भजन कीर्तन गर्ने गरिएको बताउनुभयो ।

यस्ता कार्यक्रमले युवापुस्तालाई पनि आफ्ना धर्म र संस्कृतिप्रति अभिमान गर्न प्रेरणा दिने देखिएको छ । यो हाम्रो जरो हो र यसलाई बलियो बनाउन यस्ता प्रयासहरू निरन्तर हुन आवश्यक देखिन्छ । कार्यक्रमको अन्त्यमा आयोजक मण्डलीका संयोजकले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा अझ वृहत रूपमा कार्यक्रम गर्ने योजना रहेको राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष एलिना पौडेलले बताउनुभयो ।

यस सुन्दर वातावरणमा धार्मिक भक्ति, सांस्कृतिक गर्व र सामाजिक एकताको भावनाले सबै सहभागीलाई अभिभूत बनाएको थियो । राधाकृष्ण कीर्तन मण्डलीले विगत लामो समयदेखि स्थानीय स्तरमा धार्मिक तथा सामाजिक कार्य गर्दै आएको छ । तीज, छठ, रामनवमी, कृष्णजन्माष्टमीलगायतका पर्वहरूमा पनि यस संस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने परम्परा रहँदै आएको छ । यस वर्षको शुभकामना आदान–प्रदान कार्यक्रमले विर्तामोड–२ चारपानेलाई साँच्चिकै एक सांस्कृतिक केन्द्रका रूपमा चिनाउने प्रयास गरेको देखिएको छ ।