आइतवार, असोज १२, २०८२
Sancharmanch

हजार जनता मूर्ख भए पनि देशलाई खास असर गर्दैन, तर एक नेता मूर्ख भए देश डुबाउँछ -अब्राहम लिंकन

बुधवार, असोज १, २०८२
बिवेक केशरी प्रसाइ /  अब्राहम लिंकनले भनेका थिए "हजार जनता मूर्ख भए पनि देशलाई खास असर गर्दैन, तर एक नेता मूर्ख भए देश डुबाउँछ ।" यो वाक्य साधारण देखिए पनि यसको गहिरो अर्थ छ । राष्ट्रलाई चलाउने शक्ति नेतृत्वमा केन्द्रित हुन्छ, र नेतृत्व असक्षम भयो भने जनताको विवेक र बलिदान पनि बेकार हुन्छ । नेपालको वर्तमान राजनीतिक अवस्था यसैको प्रत्यक्ष प्रमाण हो । जनता लामो समयदेखि आन्दोलनमा होमिएका छन् । कहिले लोकतन्त्रका लागि, कहिले गणतन्त्रका लागि, कहिले अधिकार र समानताको लागि । हजारौँ जनताले बलिदान दिएका छन् । तर देश अझै स्थिर हुन सकेको छैन । यसको कारण जनताको कमजोरी होइन, नेतृत्वको अदूरदर्शिता हो । आजका नेताहरू सत्ताको खेलमा रमाइरहेका छन् । संसद् खोल्ने, भत्काउने, सरकार बनाउने, गिराउने -यी सबै चलखेलमा उनीहरूको समय बितिरहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि-जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरू उपेक्षित छन् । जनताको आँखामा देखिने निराशा नेतृत्वकै कारण हो । इतिहासले पनि यही कुरा पुष्टि गर्छ । रोमन साम्राज्य बाहिरी शत्रुका कारण भन्दा बढी आफ्नै शासकहरूको भ्रष्टाचार र मूर्खताले पतन भयो । भारतमा औपनिवेशिक शासकलाई आमन्त्रण गर्ने वातावरण त्यहाँको विभाजित नेतृत्वले नै सिर्जना गर्‍यो । नेपालको सन्दर्भमा पनि जनआन्दोलनले ल्याएको अवसर नेताहरूको आपसी कलह र स्वार्थका कारण मटियामेट भयो । २०४६ सालको आशा, २०६२/६३ को उपलब्धि -सबै कमजोर नेतृत्वको कारण अधुरो बने । आज नेपालमा देखिएको निराशा पनि यही निरन्तरताको परिणाम हो । जनताले पुनःपुनः विश्वास गरेका छन्, मत दिएका छन्, सडक तताएका छन् । तर नेतृत्वले त्यो विश्वासको इज्जत गर्न सकेको छैन । सानो स्वार्थका लागि संविधान संशोधन गर्ने, गठबन्धन तोड्ने, सत्ता-सिंहासनलाई खेलौना बनाउने प्रवृत्ति अब असह्य बनेको छ । तर अझै ढिलो भएको छैन । देशलाई जोगाउने शक्ति विवेकशील नेतृत्वमै छ । त्यस्तो नेतृत्व जसले व्यक्तिगत लाभभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ, अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन नीति रोज्छ, र जनताको पीडा बुझेर समाधानतर्फ अघि बढ्छ । लिंकनको चेतावनी हामीलाई सम्झाउँछ -जनता मूर्ख भए पनि देश बाँच्छ, तर नेतृत्व मूर्ख भयो भने देश डुब्छ । नेपाललाई बचाउन अब विवेकशील, इमानदार र दूरदर्शी नेतृत्व अत्यावश्यक छ । यदि नेतृत्वमा मूर्खता निरन्तर कायम रह्यो भने, हजारौँ जनता सचेत भए पनि, हजारौँ बलिदान भए पनि, यो मुलुकलाई डुब्नबाट कसैले रोक्न सक्दैन ।
सम्बन्धित खबर