मङ्गलवार, भदौ ३१, २०८२
Sancharmanch

गोलिले चुँडिएको सपना : गोपाल सेडाईको अन्तिम यात्रा

आइतवार, भदौ २९, २०८२
झापा/ भदौ २४ गतेको त्यो दिन, झापा बिर्तामोडको आकाशमा बादल थिएन—तर हावामा आक्रोश थियो । सडकहरूमा गुञ्जिरहेथ्यो युवाहरूको आवाज—न्यायको, परिवर्तनको, नयाँ पुस्ताको । यही आवाजका अगाडि अग्रपंक्तिमा उभिएका थिए—गोपाल सेडाई, ३७ वर्षीय एक इमान्दार, कर्मठ र राष्ट्रप्रेमी नागरिक । गोपाललाई झापा चिन्थ्यो—अन्तर्राष्ट्रिय योग प्रशिक्षकको रूपमा मात्र होइन, एक संवेदनशील, समाजप्रेमी र परिवर्तनको सपना देख्ने युवकको रूपमा पनि । उनी युवा नागरिक समाज झापाका सकृय सदस्य थिए । हरेक सामाजिक गतिविधिमा, विशेषगरी अन्यायविरुद्धको हरेक संघर्षमा, गोपालको उपस्थितिले नै जनतालाई भरोसा दिलाउँथ्यो—“हामीसँग गोपाल छन् ।“ उनलाई सहित घोषणा गर्न राज्यले कम्जोरी नगरोस भन्ने अठोटमा युवा नागरिक समाज दृढ रहेको युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीको जोडदार माग रहेको छ । भदौ २३ र २४ गते झापामा जेन जि आन्दोलनको बडो उर्जाशील र अराजक लहर चलिरहेको थियो । केही समूहहरु आक्रोशित थिए—सरकारी कार्यालयमा आगजनी, तोडफोड, पार्टी कार्यालय जलाउने प्रयास, नेताहरुको सम्पत्तिमा आक्रमण । यस्तो अराजकता शायद साच्चिकै परिवर्तनको चाहनाभित्रको विस्फोट थियो । तर सबै त्यस्ता थिएनन् । केहीले शान्तिपूर्ण ढङ्गबाट आफ्ना आवाज उठाइरहेका थिए । गोपाल त्यहीँ थिए—विर्तामोडको पुरानो इलाम स्टेण्ड अगाडि, आफ्ना सहकर्मीहरूसँग शान्तिपूर्ण नारावाजी गर्दै । तर शान्ति कहिल्यै सुरक्षित रहँदैन, जब राज्यको हातमा हतियार हुन्छ, र आँखामा भय । अचानक, बिना कुनै चेतावनी, नेपाल प्रहरीको बन्दुक बोल्यो । त्यो आवाजले केवल वातावरण चिरेन, सयौं सपनाहरू चुँडायो । गोली लागेर गोपाल सेडाई ढले—त्यो ठाउँमै। संघर्षको आवाज चुँडेर मौनता फैलियो । अनि केही क्षणमै अर्को गोली, फेरि अर्को, अनि फेरि... आन्दोलनरत युवाहरूले घाइते साथीहरूलाई उठाए, दौडिए—बिएण्डसी अस्पताल । तर गोपालको लागि अस्पताल पनि पुग्न सकेन, उनको अन्तिम सास अस्पतालको बेडमै निस्कियो । शरीर शान्त थियो, तर आँखाहरू बन्द भएका थिएनन् जुन आँखाले एक न्यायपूर्ण समाजको सपना बाँचेको बताइरहेको थियो । उनको मृत शरीर तीन दिनसम्म अस्पतालमै राखियो । जव कफ्र्यु हट्यो अनि भदौ २८ गते, कोशी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पछि उनी अन्ततः घर फिर्ता आए—तर बा आमालाई सम्बोधन गर्न होइन, कालो प्लाष्टिक अनि सेतो ओढिने कपडाभित्र प्याक भएर आधुनिक पुष्पक शव बहानमा । त्यो दिन लक्ष्मिधाप गाउँ रोयो । केवल आमा–बुबा होइन, गोपालको नाम लिने हरेक व्यक्ति बिक्षिप्त बने । उनका बृद्ध आमाबुबाले त्यो दिन छोरो होइन, भविष्य गुमाए । तिनको हातको लौरो, जीवनको भरपर्दो सहारा, एकाएक हरायो । योपिडा सहन गर्ने क्षमता जो कोहिसँग छैन तर गोपालका बुबा राज्यको बेतिथिमा परिवर्तन आओस भन्ने चाहन्छन् । अहिलेसम्म पनि त्यो दृश्य सम्झिँदा सबैको मन चिसो हुन्छ । विवाहको तयारीमा रहेका गोपाल, जसको घरमा पिँढीको रङ पोतिँदै थियो, जसको लागि परिवारले मनपर्ने बेहुली रोजिसकेको थियो, उनी त एक बन्दुकको गोलीमा खरानी बनाइए । के यही हो राज्यले दिने न्याय ? के यही हो नागरिकको मूल्य ? गोपाल जस्तै त्यो दिन झापामा अन्य युवाहरूले पनि ज्यान गुमाए । तर गोपालको हत्या केवल एउटा व्यक्ति मारिए जस्तो थिएन—त्यो एक सपना, एक चेतना, एक वैकल्पिक बाटोको हत्या थियो । उनी जसले योगका माध्यमबाट आत्मिक शान्ति र सामाजिक समभाव सँगाल्दै थिए, उनले बन्दुकबाट मृत्युलाई अँङ्गाल्नुपर्यो । उनको मृत्युले एउटा गहिरो प्रश्न छोडेको छ—के राज्यको डरसामू शान्तिपूर्ण आन्दोलनले ठाउँ पाउँदैन? के युवा पुस्ताले आफूलाई अभिव्यक्त गर्ने हक सुरक्षित छैन ? गोपाल अब छैनन् । तर उनका सपना बाँकी छन् । उहाँको मृत्यु एउटा घटना होइन, एउटा सन्देश हो—समाज, राज्य र जनताबीचको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने आवश्यकताको । गोपालको शान्त मन र जोशिलो आवाज, अब हाम्रो आत्मामा प्रतिध्वनित भइरहनेछ—“हामी मारिन्छौँ, तर हामीको सपना कहिल्यै मर्दैन ।“
सम्बन्धित खबर