झापा, शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले पिता तिर्थ औँसीको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरी वडाका ज्येष्ठ बुबाहरुलाई सम्मान गरेको छ । वडा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा स्थानीय ज्येष्ठ बुबाहरुलाई नेपाली टोपी प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख मेघाहाङ थोप्रा रोशनले पनि कार्यक्रममा बोल्दै वडाले सञ्चालन गरेका नागरिकमुखी कार्यक्रमहरूको प्रशंसा गर्नुभयो । उहाँले यस्तो प्रकारका गतिविधिहरू नगरपालिकाका अन्य वडाले पनि अनुकरण गर्न सक्ने भन्दै वडाध्यक्ष खुलाललाई बधाई दिनुभयो ।

कार्यक्रममा बुबाहरुलाई सम्मान गर्नुका साथै आमाहरु, दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रम पनि गरिएको थियो । नेपाली परम्पराअनुसार हरितालिका तिज नजिकिँदै गर्दा महिलाहरुलाई दर खुवाउने परम्परालाई सम्मान दिँदै वडाले उक्त पहल गरेको हो ।

वडा अध्यक्ष खुलालले बोलेका कुरामा वडाको समग्र विकास योजनालाई समेट्दै सामाजिक समावेशिता, सेवा प्रवाहको पहुँच र नागरिक केन्द्रित सेवामार्फत वडालाई नमुना बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, युवा, विद्यार्थी, महिला समूह र अन्य सरोकारवाला गरी करिब दुई हजार नागरिकको उपस्थिति रहेको थियो ।

विद्यालयस्तरका स्काउट विद्यार्थीहरुले स्वागत नृत्य, कविता र अन्य सांस्कृतिक प्रस्तुति दिएका थिए । साथै, तिज गीतमा महिलाहरुको समूहिक नृत्य पनि कार्यक्रमको आकर्षण बनेको थियो ।

इतिहाँस देखि चल्दै आएको हरितालिका तिज पर्व महिलाहरुका लागि ससक्त आवाज र पहिचानका रुपमा रहेको नेपाली कांग्रेस जिल्ला कार्य समितिका सह-सचिव कमल प्रसाद भण्डारीले बताउनुभयो ।

उदाहरणका लागि, विपन्न परिवारका लागि स्वास्थ्य बीमा योजना, पशु चौपायाका लागि बीमा कार्यक्रम, मृत्युपछि संस्कार सहयोग योजना, तथा मृत्यु दर्ता प्रमाणपत्र घरमै पुर्याउने जस्ता सेवाहरू देशमै नमुना बन्न पुगेका छन् ।

यस्ता कार्यक्रमहरूले वडाका नागरिकहरूबीच सरकारी सेवाप्रतिको विश्वास बढेको र सेवा प्रणाली जनमुखी बन्दै गएको देखिन्छ । वडा कार्यालयले बुबालाई सम्मान आमालाई दर कार्यक्रमको आयोजना गरेर बुबा आमा दुवैजना सम्मान गर्ने कार्यक्रमको आयोजना गरेकोमा वडाका जनप्रतिनिहरुलाई समाजसेवी मिलन कुमार ढुंगानाले धन्यवाद दिनुभयो ।

यस किसिमका सामाजिक र सांस्कृतिक कार्यहरू केवल परम्परालाई जगेर्ना गर्नु मात्रै नभई नागरिकहरूसँग सरकारको सम्बन्ध बलियो बनाउने अवसरका रुपमा पनि लिन सकिन्छ ।

कार्यक्रमले सामाजिक सद्भाव, बुजुर्गप्रतिको सम्मान र महिलाप्रतिको सम्मानलाई समेट्न सफल भएको देखिन्छ । वडा अध्यक्ष खुलालको नेतृत्वमा वडा नं. ६ ले विगत केही वर्षदेखि सरकारी सेवा घर–घरमा पुर्याउने प्रकृतिका कार्यक्रमहरू सञ्चालन गर्दै हुँदै आएको छ ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्रा रोशनले गर्नु भएको थियो । कार्यक्रम वडा सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजालले सञ्चालन गर्नुभएको थियो ।