सोमवार, साउन २०, २०८२
Sancharmanch

पाँचथर सुभाङ झापा एकताको तिज मिलन कार्यक्रम भदौ ६ गते हुने

शनिवार, साउन १८, २०८२
झापा/ पाँचथर सुभाङमा जन्मिएर झापा जिल्लालाई आफ्नो कर्मभूमि बनाएका चेलिबेटीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक एकता प्रवद्र्धन गर्ने उद्देश्यले पाँचथर सुभाङ झापा एकता समाजले आगामी भदौ ६ गते तिज मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम झापा विर्तामोड नगरपालिका वडा नं. १ मा रहेको हिमाल सागर पार्टि प्यालेसमा आयोजना गर्न लागिएको समाजका अध्यक्ष ओमभक्त सेडाईले बताउनुभयो । कार्यक्रममा सल्लाहकार समितिका सदस्य लोकनाथ खनाल प्रमुख अतिथि रहनुभएको थियो । समाजका सदस्यहरु वाट रकम सहयोग लिएर कार्यक्रम सम्पन्न गर्न कार्यक्रमका प्रमुख अतिथि लोकनाथ खनालले आग्रह गर्नुभयो । कार्यक्रमका दौरान समाजका कोषाध्यक्ष टिका खनालले संस्थाको आर्थिक स्थिति र उपलब्ध मौज्दातको विस्तृत विवरण प्रस्तुत गर्नुहुँदै कार्यक्रमको सफल आयोजनाका लागि आवश्यक तयारीहरूबारे जानकारी गराउनुभयो । उहाँले समाजले हालसम्म गरेका खर्च र बाँकी रहेको रकम पारदर्शिताका साथ प्रस्तुत गर्नु समाजप्रति सबैको विश्वास अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । आफ्ना माइतिले सुभाङ बाट झापामा विबाह गरेर दिएको र माइति भने बसाई सरेर काठमाण्डौ गएको तर हाल सम्म तिजमा दर खान माइति जान हाल सम्म पनि नपाएको बताउँदै सुभाङकी चेलि देवकुमारी मैनाली (उप्रेतिले) भदौ ६ गतेको तिज भने सम्पूर्ण माइतिसँगै रहेर मनाउन पाएको भन्दै खुसी ब्यक्त गर्नु भयो । कार्यक्रमको मूल उद्देश्य भनेको झापामा बसोबास गरिरहेका पाँचथर सुभाङका चेलिबेटीहरूलाई एउटै थलोमा भेला गराई आपसी चिनजान, मेलमिलाप र सामाजिक सम्बन्ध पुनः प्रगाढ बनाउनु रहेको छ। समाजले यो कार्यक्रमलाई मनोरञ्जनमूलक मात्र नभई सामाजिक एकता र संस्कृति जगेर्नाको दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण ठानेको छ । बिर्तामोड नगरपालिका वडा नं. १ र २ मा सुभाङ वाट बसाई सरी आएका नागरिकहरुको बाहुल्यता रहेको समाजसेवी दुर्गा भण्डारीले बताउनुभयो । तिज पर्व नेपाली महिलाहरूको विशेष पर्वका रूपमा मनाइने हुँदा यस्तो मिलन कार्यक्रमले महिलाहरूबीचको आत्मीयता र सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। झापामा बसोबास गरिरहेका सुभाङे चेलीहरूका लागि यस्तो किसिमको कार्यक्रमले आफ्नै घरको झल्को दिने अनुभूति गराउने आयोजक समितिको विश्वास छ । सांगीतिक प्रस्तुति, नृत्य तथा अन्य विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने पनि छलफलमा जनाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचथर सुभाङका समाजसेवी बालकृष्ण आयोझाले समाजले गरेका हरेक गतिविधिहरु प्रभावकारी रहेको बताउँदै पाँचथर सुभाङ र झापामा रहनु भएका नागरिकहरुसँग अन्योन्याश्रीत सम्वन्ध स्थापना भएको बताउनुभयो । झापा एकता समाजले विगतमा पनि विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू गर्दै आएको छ। समाजले आयोजना गर्ने आगामी तिज मिलन कार्यक्रमले एकताको सन्देश फैलाउने र समुदायमा आपसी समझदारीलाई बढावा दिने विश्वास लिइएको छ । शनिबार सम्पन्न एक बृहत छलफल कार्यक्रम मार्फत उक्त निर्णय गरिएको हो । झापा विर्तामोड नगरपालिका वडा नं. १ मा रहेको हिमाल सागर पार्टि प्यालेसमा आयोजित छलफल कार्यक्रम समाजका अध्यक्ष ओमभक्त सेडाईको अध्यक्षतामा सम्पन्न भएको थियो । छलफलका सहभागीहरूद्वारा तिज मिलन कार्यक्रमलाई भव्य र स्मरणीय बनाउने विषयमा विभिन्न सुझाव र योजनाहरू पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा दुर्गा भण्डारी, इन्द्र संग्रौला, हेमन्त लामिछाने लगायत सहभागीहरूले तिज मिलन कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना पनि दिनुभएको कार्यक्रम समाजका सचिव हरि सुवेदीले सहजिकरण गर्नु भएको थियो ।
सम्बन्धित खबर