मङ्गलवार, भदौ ३, २०८२
Sancharmanch

चिलिमगढि घाटको संरक्षण र व्यवस्थापनमा सहयोगी मनहरूको हात, तर अझै चुनौती धेरै

शुक्रवार, असार २०, २०८२
झापा/ झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ र ४ को संगम स्थलमा चिलिमगढि घाट मृतकको अन्तिम संस्कार गरिने पवित्र स्थलका रूपमा चिनिन्छ । यस घाटलाई सौन्दर्यपूर्ण र व्यवस्थित बनाउने प्रयासमा स्थानिय पालिका, सामाजिक संघसंस्था र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत सक्रिय भएका छन् । चिलिमगढि घाटमा विगत केही समयदेखि संरचनागत विकासका कामहरू अगाडि बढाइएका छन् । घाट परिसरलाई व्यवस्थित, सफा र सुरक्षित बनाउन समाजका सचेत वर्ग तथा सहयोगी मनहरूको योगदान उल्लेखनीय रहँदै आएको छ । विदेशमा रहेका बुद्धशान्ति गाउँपालिका क्षेत्रका नेपालीहरूबाट आएको आर्थिक सहयोगले घाट सुधारका कार्यलाई निरन्तरता दिइरहेको छ । त्यस्तै, वर्खा स्मृति प्रतिष्ठान, आदर्श युवा क्लबलगायतका स्थानीय संस्थाहरूले समेत सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । यद्यपि, घाट व्यवस्थापनको क्रममा विभिन्न चुनौतीहरू पनि देखिएका छन् । आर्थिक अभावका कारण २४ घण्टा सुरक्षा व्यवस्था मिलाउन कठिन भइरहेको छ । स्थायी सुरक्षा गार्डको अभावमा घाटमा संरचना तोडफोड तथा क्षतिको जोखिम बढेको छ । खासगरी लागुऔषध दुरुपयोग गर्ने समूहहरूद्वारा घाट परिसरमा तोडफोड, र अव्यवस्थित गतिविधि बढेका छन् । स्थानिय सरकार वाड पनि सहयोग भएको बताउँदै अक्षयकोष स्थापना गरेर अगाडि वढेको घाट निर्माण तथा ब्यवस्थापन समितिका अध्यक्ष कमल उप्रेतीले बताउनुभयो । यहाँ निर्माण भइरहेको जलाशयको काम पनि बजेटको अभावमा अल्झिने सम्भावना देखिएको छ । घाटको प्राकृतिक सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले रोपिएका बोटविरुवामा समेत क्षति पुग्ने गरेको छ, जसले वातावरणीय सन्तुलन र हरियालीमा असर पु–याएको छ । चिलिमगढि घाटमा दाहसंस्कारपछि बाँकी रहने अस्थि (शेष) व्यवस्थापनका लागि उपयुक्त स्थल निर्माणको खाँचो अझै छ । अहिले त्यस्तो संरचना नहुदाँ धार्मिक आस्थासँग जोडिएको कार्य व्यवस्थित रूपमा सञ्चालन गर्न कठिनाइ भएको छ । समाजको धार्मिक संवेदना र संस्कारसँग जोडिएको यो स्थानलाई व्यवस्थित गर्न दीर्घकालीन योजना र पर्याप्त बजेटको आवश्यकता देखिन्छ । यसै सन्दर्भमा स्थानीय बासिन्दाहरू र पालिका नेतृत्वले चिलिमगढि घाटको दिगो विकासका लागि सरकारसँग समेत अपिल गरिरहेका छन् । घाटको संरक्षण, सुरक्षा तथा सम्पूर्ण व्यवस्थापनका लागि एकीकृत योजना आवश्यक भएको उनीहरूको भनाइ छ । घाट ब्यवस्थापनका लागि सहयोग जुट्ने क्रम पनि बढिरहेको बताउँदै रकम अभाभका कारण समस्या समाधान गर्न नसकिएको घाट ब्यवस्थापन समितिका उपाध्यक्ष पदम प्रसाद पोख्रेलले बताउनुभयो । चिलिमगढि घाटको वर्तमान अवस्था हेर्दा यसको व्यवस्थापनमा सहकार्यको खाँचो अझै महसुस भइरहेको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण यस घाटलाई व्यवस्थित, सुरक्षित र शालीन बनाउने कार्यमा स्थानीयको मात्रै नभई सबै तहबाट साथ र सहयोग आवश्यक छ । घाट ब्यवस्थापनमा हाल सम्म ८३ लाख बजेट खर्च भइसकेको छ । जसमा संघ र प्रदेश साथै स्थानिय सरकारको तर्फ बाट सहयोग प्राप्त भएको चिलिमगडि घाट निर्माण तथा ब्यवस्थापन समितिका कोषाध्यक्ष केशव सापकोटाले बताउनुभयो । अन्तिम संस्कारको पवित्र स्थललाई संरक्षण गर्नु केवल घाटकै कुरा होइन, यो हाम्रो संस्कार, आस्था र सामाजिक उत्तरदायित्वसँग जोडिएको विषय हो । त्यसैले चिलिमगढि घाट व्यवस्थापनलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्ने समय आएको छ ।
सम्बन्धित खबर