बुधवार, असार १८, २०८२
Sancharmanch

स्तन क्यान्सर पीडित सरिता वि.क.लाई उर्जाशील रामधुनी आमा समूहको सहयोग

बुधवार, असार १८, २०८२
झापा, विर्तामोड / विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित सितलनगर टोल, बेलगाछीकी सरिता वि.क. अहिले जीवनको एक कठिन मोडमा उभिनुभएको छ । स्तन क्यान्सर जस्तो गम्भीर रोगले पीडित भई उपचारको आवश्यकता रहे पनि आर्थिक अभावका कारण उहाँ घरमै रोग बोकेर बस्न बाध्य हुनुन्छ । ३ वर्षीया सन्तानकी आमा सरिताका श्रीमान जगत बहादुर बिश्वकर्मा चिया बगानमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको छ । तर उहाँको न्यून आयले क्यान्सरजस्तो खर्चिलो उपचार सम्भव नभएपछि, परिवार आर्थिक संकटमा परेको छ । भरतपुरस्थित क्यान्सर अस्पताल वा झापाकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक रकम अभाव भएपछि, उहाँ अस्पताल पुग्न नसकी घरमै दर्द सहन बाध्य हुनुन्छ । यस अवस्थाको जानकारी पाएपछि विर्तामोडमा सक्रिय “उर्जाशील रामधुनी आमा समूह“ सरिताको सहयोगार्थ अगाडि बढेको छ । समूहले आफ्नो मासिक कार्यक्रमलाई सेवा कार्यमा रूपान्तरण गर्दै पीडितको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सहयोगी मनहरुलाई सहयोग गर्नका लागि अपिल गर्दै उर्जाशील रामुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकाल विरामीको अवस्था देखेर भाबुक बन्नुभयो । समूहकी सल्लाहकार सदस्य कला बस्नेतका श्रीमानको जन्मदिनको अवसरलाई सामान्य भोजभतेरमा खर्च नगरी, समाजसेवामा रुपान्तरण गर्ने सोचले यो सहयोग कार्यक्रम सम्भव भएको हो । संस्थाको तर्फ वाट त्यसैगरी कार्यक्रमका सम्योजक  बस्नेतको एकल पहल र समूहका सदस्यहरुको व्यक्तिगत योगदानमा संकलित रकम सरितालाई हस्तान्तरण गरिएको हो । संस्थाकी कार्यसमिति सदस्य मनिता खुलालको समन्वयमा सहयोग कार्यक्रम सम्पन्न भएको थियो । सदस्य खुलालले सरिता वि.क.को अवस्था देखेर सहयोगका लागि आमा समूहलाई जानकारी गराउनुभएको थियो । यसरी समुदायको सकृयतामा पीडित महिलाको पीडामा मलहम लगाउने कार्य गरिएको हो । सरितालाई सहयोगको आवश्यकता देखेर सहयोगका लागि आफुले पहल गरिरहेको विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी डिल्लि न्यौपाने, आमा समूहका अन्य सदस्यहरू, र स्थानिय नागरिकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले सरिताको दीर्घकालीन उपचारका लागि थप सहयोग जुटाउनु आवश्यक रहेको देखिन्छ । समाजमा अझै पनि धेरै विपन्न वर्गका नागरिकहरू यस्ता गम्भीर रोगसँग जुध्न बाध्य छन् तर उपचार खर्च नहुने अवस्था देख्दा पीडादायी हुन्छ । यस्ता अवस्थामा समुदायस्तरमै देखिने सशक्त एकता र मानवीय सहयोग नै उनीहरूका लागि आशाको किरण बन्ने गर्दछ । आफुले सानो सहयोग गरेको बताउँदै उर्जाशील रामधुनी आमा समूहकी सल्लाहकार सदस्य कला बस्नेतले थप सहयोगका लागि आम नोपालीहरुलाई आग्रह गर्नुभयो । यद्यपि सरिताको उपचारका लागि अझै धेरै सहयोग आवश्यक रहेको हुँदा, विर्तामोड क्षेत्रका सामाजिक संस्था, संघ–संस्था, स्थानिय सरकार र सहयोगी मन भएका व्यक्तिहरूले अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । सरिताको उपचारमा सघाउन इच्छुकहरूका लागि सम्पर्क विवरण स्थानीय आमा समूह मार्फत उपलब्ध गराइने जानकारी पनि आयोजक समूहले दिएको छ । समाजका दुःखी र पीडित नागरिकहरूलाई बिर्तामोडवासीले यसरी साथ दिँदै जानु सकरात्मक परम्परा हो, जुन भविष्यमा पनि निरन्तरता पाउने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् । बिरामीको अवस्था देखेर समूहका सदस्यहरुका आँखामा टिलपिल आँशु देखिएको थियो भने अध्यक्ष गंगा सिवाकोटी ढकाल भक्कानिनु भएको थियो ।उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालको अध्यक्षता रहेको कार्यक्रममा विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको प्रमुख आतिथ्यता रहेको थियो भने आमा समूहकी सचिव निरा कट्टेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर