झापा । बुद्धशान्ति गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशन शुक्रबार सुरु भएको छ ।

गाउँपालिकाको सभाहलमा शान्त वातावरणमा सम्पन्न गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष प्रसाईका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, मानव स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । ग्रामीण क्षेत्रको मुख्य पेशा कृषि भएको र यसलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन र बजार व्यवस्थापनलाई जोड दिइएको उहाँको भनाइ थियो ।

उद्घाटन सत्रमा उपाध्यक्ष भवानी प्रसाद खतिवडाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्ताव गरिएको आर्थिक विधेयक, बजेट तथा कार्यक्रम समेटिएको विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो । सो विधेयकमा कर तथा राजस्व दरका प्रस्तावहरू साथै बजेटका विभिन्न शीर्षकहरूलाई समेटिएको छ ।

यस वर्ष गाउँपालिकाले आम्दानीतर्फ अनुमानित कुल ६७ करोड ६७ लाख ३७ हजार ८ सय रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उक्त बजेटमध्ये २३ करोड ६२ लाख ८० हजार ८ सय रुपैयाँ पूँजीगत खर्चका लागि छुट्याइएको छ भने ४४ करोड ४ लाख ५७ हजार रुपैयाँ चालु खर्चका लागि प्रस्ताव गरिएको छ । यो बजेटमा पूँजीगत तर्फको भार ३४.९१ प्रतिशत र चालु तर्फको भार ६५.०९ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

गाउँसभा दौरान कार्यपालिका सदस्य पवित्रा परियारले सामुदायिक विद्यालय मातहत रहेको जग्गाको विषयमा महत्वपूर्ण प्रस्ताव राख्नुभयो । उहाँले धेरै विद्यालयहरूका नाममा ठूलो मात्रामा जमिन रहेको तर प्रयोग शुल्क अर्थात भाडा उठाइएको छैन भन्ने विषय उठाउँदै अबदेखि नियमित भाडा उठाउने व्यवस्था गर्दै पुराना बक्यौता मिनाहा गर्ने वा बक्यौता असुलिका प्रकृया अगाडि बढानुपर्ने प्रस्ताव राख्नुभयो ।

कार्यपालिका सदस्य दिपक सापकोटाले बजार क्षेत्रको अव्यवस्थित विस्तार र विद्युत् व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न विशेष योजना ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले सरसफाइ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखी विशेष कार्यक्रम अघि बढाउनु पर्ने प्रस्ताव पेश गर्नु भयो ।

उक्त प्रस्तावहरूलाई सकारात्मक रूपमा लिँदै गाउँपालिका अध्यक्ष मनोज प्रसाईले विद्यालयहरूको मातहतको जग्गाको यथार्थ अवस्थिति बुझ्न खोजी गरि कार्य अगाडि वढाउन सकिने बताउनुभयो । उहाँले बजार व्यवस्थापनसँग सम्बन्धित योजनाका लागि बजेटको व्यवस्था भइसकेको जानकारी दिनुभयो ।

यस आर्थिक वर्षमा भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा सेवा विस्तारलाई पनि प्राथमिकता दिइएको छ । गाउँपालिका उपाध्यक्ष खतिवडाका अनुसार अस्पतालमा प्रसूति सेवा सहित २४ घण्टा आपत्कालीन सेवा सञ्चालन हुने गरी कार्यक्रम अघि बढाइएको छ । यसले गाउँपालिका भित्रका सर्वसाधारणले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।

गाउँसभामा सातै वडाका अध्यक्षहरू, कार्यवाहक अध्यक्ष, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, कर्मचारी, नगर प्रहरी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । सबै सहभागीहरूले आगामी आर्थिक वर्षको कार्यक्रम र बजेटले गाउँपालिकाको विकासलाई गति दिनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।

गाउँसभा शान्त, व्यवस्थित र समन्वयात्मक ढंगले सम्पन्न भएको थियो। छलफलपछि आगामी असार ९ गते अर्को बैठक बस्ने निर्णय गर्दै गाउँसभा स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले जानकारी दिनुभयो ।