विर्तामोड/ झापाको विर्तामोडमा सञ्चालित विभिन्न मासु पसलहरु बाट एक सय केजि अखाद्य मासु जफत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले विर्तामोड नगरपालिका भित्र सञ्चालित मासु पसलहरूमा अनुगमनका क्रममा भेटिएको अखाद्य अवस्थाका मासु जफत गरी डिस्पोज गरिएको हो ।

विर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय साथै भेटेरिनरी अस्पतालका विज्ञसहितको टोलीले संयुक्त रुपमा निरीक्षण गरेको थियोे । ६० वटा भन्दा बढि पसलको अनुगमन गरिएको छ । सोहि अवसरमा भारत बाट आयातित माछामा फर्मालीन प्रयोग भए नभएको पनि परिक्षण गरिएको थियो । जस अन्तर्गत विर्तामोड क्षेत्रमा विक्रि हुँदै आएको माछामा भने फर्मालिन प्रयोग नभएको पाइएको छ । गत असार २ गते भद्रपुर क्षेत्रका मासुपसलहरुको अनुगमन गरिएको बताउँदै विर्तामोड नगर भित्र सञ्चालित माछामासु पलहरुको अनुगमनका क्रममा विर्तामोडमा भने सफाइको समस्या रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका कार्यालय प्रमुख शितल भट्टराईले बताउनुभयो ।

अनुगमनका क्रममा अखाद्य अवस्थामा रहेका १ सय केजि भन्दा बढि माछा, मासु जफत गरि डिस्पोज गरिएको छ । यस्ता वस्तुहरूको बिक्री उपभोक्ताको स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुने देखिएको छ । केहि मासु पसलहरुले न्युनतम मापदण्ड समेत लागु नगरेको पाइएको छ । नगरपालिका बाट अनुगमन जरुरी रहेको बताउँदै स्वस्थकर मासु बिक्रि गर्न ब्यवसायी र उपभोग गर्ने उपभोक्ता दुवै सचेत रहनु पर्ने विर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतरा प्रसाईले बताउनुभयो ।

विर्तामोड नगर पालिकाको तर्फ वाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले आयोजना गरेको अनुगमन कार्यक्रमलाई विर्तामोड नगरपालिकाले भरपुर सहयोग गरेको थियो । उप प्रमुखको नेतृत्वमा नगरको टोलि सहित सारेकारवाला निकायको सहभागितामा गरिएको अनुगमनका क्रममा दुध, ध्यु जस्ता सामग्री एकै ठाउँमा राखिएको पाइएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत चुडामणी आपगाईले विर्तामोड नगर क्षेत्रका मासु पसलहरुको अनुगमन गरिएको बताउँदै माछा मासु पसलहरुमा सडेगलेका माछाहरु भेटिएको भए पनि भद्रपुर नगरपालिकाको भन्दा केहि सुधार पाइएको बताउनुभयो ।

विर्तामोड नगरपालिका पशुपन्छि तथा मत्स्य विकास शाखाका प्रमुख डक्टर नगेन्द्र खड्काले अनुगमनलाई थप प्रभावकारी बनाउन फर्मालिन टेस्ट किट उपलब्ध गराउनु भएको थियो । डक्टर खड्काले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापा र विर्तामोड नगरपालिका साथै सरोकारवाला निकायसँगको सहयोगमा गरिएको अनुगमनका क्रममा डिसकार्डेड प्रकृतिका सामग्री भेटिएको हुँदा जफत गरिएको साथै आगामी दिनमा अनुगमन थप प्रभावकारी बनाइने बताउनुभयो ।

अनुगमनको उद्देश्य कारवाही मात्र होइन, विक्रेता र उपभोक्तालाई पनि सचेत बनाउनु हो । मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्ने गरिका अखाद्य बस्तुहरुको कारोबारको काम गर्ने जो कोहि ब्यवसायीलाई राज्यले कार्वाहि गर्ने प्रावधान रहेको छ । अनुगमनका क्रममा विर्तामोडमा सञ्चालित भाटभटेनी सुपर मार्केट भित्र विक्रि वितरण गरीने प्याकिङ गरिएका सामग्रीहरुको समेत अनुगमन गरीएको थियो ।

उपभोक्ताहरूलाई पनि सस्तो हेरेर होइन, सफा र सुरक्षित मासु खरिद गर्ने बानी बसाल्न आवश्यक देखिन्छ । धेरैजसो पसलले स्वास्थ्य मापदण्ड पालना गरिरहेका छन्, तर केहि पसलहरु भने विना दर्ता सञ्चालन गरेको पइएको छ । न्युनतम मापदण्ड समेत पुरा नगरी माछा मासु विक्रि भए पनि क्यान्सर जन्य रोग लाग्न सक्ने प्रकृतिको विसादी फर्मालिन भने प्रयोगमा सुधार आएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्राविधिक सहायक संगिता शाहले बजार अनुगमनका क्रमम अखाद्य मासु र खा न गोग्य मासु एकै ठाउँमा राखेको पाइए पनि केहि राम्रा पसलहरु पाइएको बताउनुभयो ।

अनुगमन टोलीका अनुसार, भद्रपुर नगरपालिका पछि यो दोश्रो पटक गरिएको अनुगमन कार्यक्रम हो । जिल्लाका अन्य पालिकाहरूमा पनि अनुगमनलाई निरन्तरता दिइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापालबताएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छताको सुनिश्चितताका लागि समय समयमा हुने अनुगमनलाई सबै पक्षको साथ र जिम्मेवारी आवश्यक छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले सरोकारवाला निकायको सहयोगमा जिल्लाका अन्य पालिकामा रहेका मासु पसलहरुको अनुगमनलाई यसैगरी निरन्तरता दिदै नियमन गरिने जनाएको छ ।