मङ्गलवार, फागुन १९, २०८२
Sancharmanch

विर्तामोडको सहयोगमा परम्परागत सीप संरक्षण गर्दै उर्जाशील रामधुनी आमा समूह ।

Posted by:
आइतवार, जेठ १९, २०८२
प्रतिक अर्याल, झापा/ झापा जिल्लाको विर्तामोड नगरपालिकामा स्थापना भएको उर्जाशील रामधुनी आमा समूह झापाले तीन दिने सीपमूलक तालिमको आयोजना गरेको छ। यो तालिम विर्तामोड नगरपालिका झापाको आर्थिक सहयोगमा महिलाहरूको क्षमता अभिवृद्धि गर्न सञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शागर मिश्रले संस्थालाई व्यवस्थित गर्दै सीपमूलक तालिम सञ्चालनका लागि नगरपालिकाको तर्फबाट लुगा सिलाउने मेसिन सहयोग गर्ने बताउनुभयो । साथै, उत्पादनलाई ब्रान्डिङ गरेर अगाडि बढेमा विभिन्न प्रकारका सहयोग प्राप्त गर्न सकिने उहाँको भनाई थियो । विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले संस्थाको सीपमूलक तालिमले क्षमता तथा नेतृत्व विकासमा योगदान गर्ने उल्लेख गर्दै, उर्जाशील रामधुनी आमा समूह हरेक क्षेत्रमा अब्बल रहेको बताउनुभयो । झापा जिल्लाको उत्कृष्ट कोशेली घर स्थापनाको सपना बनाएको उर्जाशील रामधुनी आमा समूहले संस्थासँग आवद्ध दिदीबहिनीहरूलाई व्यावसायिक बनाउन प्रयत्न गरिरहेको छ । यसै वीच समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले संस्था समाज परिवर्तनका लागि क्रियाशील रहेको बताउनुभयो । नेपाली संस्कार र संस्कृतिका लागि आवश्यक सामग्रीहरू निर्माण गर्न प्रेरित गर्दै, व्यावसायिक उत्पादनको लागि तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिमका सिकाइले संस्कारको विकासलाई प्राथमिकता दिएकोमा समाजसेवी राम पौडेलले खुशी व्यक्त गर्नुभयो । तालिममा धूप बनाउने, दुना–टपरा गाँस्ने, बाती बनाउने लगायतका परम्परागत सीपहरू सिकाइएको थियो । उर्जाशील रामधुनी आमा समूहले सञ्चालन गरेको तालिमले महिलाहरूलाई आर्थिक लाभ दिलाउन सहयोग गर्ने समाजसेवी चन्द्र तिम्सिनाले बताउनुभयो । तालिममा सहभागी संस्थाका कार्यसमिति सदस्य समृद्धि लुइटेल थापाले तालिमको अनुभव प्रस्तुत गर्नुभएको थियो । तालिम समापन समारोहमा संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा विर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शागर मिश्रको उपस्थिति रहेको थियो । साथै, विशेष अतिथिका रूपमा विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको सहभागिता थियो । संस्थाका सल्लाहकार सदस्य कला बस्नेतले स्वागत गर्नुभएको कार्यक्रम संस्थाकी सचिव निरा न्यौपाने कट्टेलले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर