बिहिवार, पौष १७, २०८२
Sancharmanch

पहाडबाट तराईतिरको बसाईंसराईलाई रोक्न अब ढिलो गर्नु हुँदैनः ईश्वर पोखरेल

Posted by:
सोमवार, पौष २, २०८०
 झापा - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पहाडबाट तराईतिरको बसाईंसराई नरोके देशमा जटिल परिस्थिति निम्तिने बताउनुभएको छ । नेकपा एमालेको समृद्धि यात्राको समापनपछि काठमाडौं जानेक्रममा झापाको बिर्तामोडमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेलले पहाडमा भौतिक सुविधा पुगे पनि सर्वसाधारणको बसाईंसराई झन् बढेकाले त्यसलाई नरोके जटिल परिस्थिति निम्तिने संभावना औंल्याउनुभयो । त्यस्को अध्ययनका लागि पनि एमालेले मध्यपहाडको यात्रा तय गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, 'यस्तै बसाईंसराईको परिस्थिति रहे जुनसुकै परिस्थिति निम्तिन सक्छ । त्यसैले सबै राजनीतिक दल यसबारेमा सजग हुन जरूरी छ ।' यात्राका क्रममा मध्यपहाडको विकास र त्यहाँका मानिसहरूको विचार आफूहरूले राम्रोसंग बुझेको एमाले नेता पोखरेलले बताउनुभयो। मध्यपहाडका जनताले कृषि उत्पादनको बजारीकरण, कृषिमा अनुदान तथा रोजगारीका अवसर मुख्य माग राखेको उहाँले बताउनुभयो । पोखरेलले भन्नुभयो, 'मध्यपहाडमा सडक पुगेको छ । अन्य भौतिक सुविधा पुगेका छन् । तर मानिसहरूमा वितृष्णा छ । त्यही वितृष्णा चिर्न अब ढिलो गर्नुहुँदैन ।' अर्को एक प्रसंगमा उहाँले कोशी प्रदेश नामकरणविरुद्धमा गरिएको आन्दोलन एमालेलक्षित भएकोमा आश्चर्य प्रकट गर्नुभयो। उहाँले प्रदेश सभाको विधिबाट निस्किएको नामकरणको मुद्दा प्रदेश सभामै पुगेर सुल्झिनु पर्ने बताउनुभयो । विधि र पद्धतिविपरित एमालेले कुनै पनि काम नगर्ने उहाँले बताउनुभयो ।
सम्बन्धित खबर