मङ्गलवार, फागुन १९, २०८२
Sancharmanch

आर्ट स्टुडियो बिर्तामोडको अध्यक्षमा पुनः शान्तादेवी पौडेल

Posted by:
शुक्रवार, असोज २६, २०८०
बिहीबार सम्पन्न आर्ट स्टुडियो बिर्तामोडको प्रथम अधिवेशनले शान्तादेवी पौडेललाई पुनः अध्यक्षमा चयन गरेको छ । झापाको विर्तामोड नगरपालिका वडा नं. २ मा मुख्य कार्यालय रहेको स्टुडियो कला साथै संस्कृति संरक्षणका लागि गैरनाफामूलक सामाजिक संस्था हो । चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन उद्घाटन सत्रको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै विशेष अतिथि साहित्यकार तथा गीतकार हस्त परियारले आर्ट स्टुडियोले नौमती बाजा संरक्षणमा झापा जिल्लामै पहिलो पटक भूमिका खेलेको बताउँदै अप्ठ्यारा परिस्थितिसँग जुध्दै अगाडि बढ्न सुझाव दिनुभयो । प्रथम अधिबेशनबाट संस्थाको उपाध्यक्षमा मञ्जु प्रसाई, सचिवमा कल्पना भट्टराई, सहसचिवमा अम्बिका श्रेष्ठ, कोषाध्यक्षमा गोमादेवी बिमली, सदस्यहरुमा सोभा बिमली, सुशिला दाहाल, धनकुमारी भट्टराई, कल्पना खतिवडा चयन हुनुभएको छ । कार्यक्रम विर्तामोड नगरपालिका वडा नं. २ लालमाटी चोकमा रहेको आर्ट स्टुडियोको कार्यालयमा आयोजना भएको थियो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिका झापाकी निवर्तमान उपप्रमुख मन्जु प्रसाईंले संस्था चार वर्ष पुगेको बालकको रुपमा रहेको हुँदा अब औँला दिएर टुकुर टुकुर हिँडाउँदै अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । कला र संस्कृति बचाउँदै नाट्य विधामा एउटा नमूना संस्थाको रुपमा परिचय बनाउन सफल आर्ट स्टुडियोलाई एउटा समाजको अभिन्न अङ्ग बनाउने सन्दर्भमा संस्थाकी अध्यक्ष शान्ता पौडेलको भूमिका अत्यन्तै सराहनीय रहेको देखिन्छ । संघर्ष गर्दै संस्थालाई अगाडि बढाउनका लागि आफूले सक्ने सहयोग गरिरहेको साथै आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रमुख अतिथि किशोर पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो आर्ट स्टुडियोमा महिलाहरुको मात्र नेतृत्व रहेको छ । २५ वर्षदेखि ७५ वर्षमा दिदीबहिनीहरुको सहभागिता रहेको यो समूहले बाजा बजाउनका लागिसमेत जिल्लामा पहिलो पल्ट महिलाहरुकै टिम निर्माण गरेर काम गर्दै आएको छ । कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने सामाजिक काममा महिलाहरुको सक्रियता र जोस आज समाज रुपान्तरणका लागि कोषेढुंगा सावित भएको छ । आर्ट स्टुडियोले नौमती बाजा संरक्षणसँगै २ वटा स्टेज नाटक रुवा र खरानीको धागो बिर्तामोडमा प्रदर्शन गरिसकेको छ । आर्ट स्टुडियोको प्रथम अधिवेशनको खुल्ला सत्रको कार्यक्रम संस्थाकी निवर्तमान सचिव मेनुका घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर