शनिवार, पौष २६, २०८२
Sancharmanch

कांग्रेसले कांग्रेसलाई नै खेदिराखेको अवस्था र पार्टीभित्रका छिद्रलाई सार्वजनिक ठाउँमा देखाउने गलत बानी सुधार गर्नुपर्ने, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा

Posted by:
शनिवार, साउन २७, २०८०
बिर्तामोड । पार्टी भित्रको आन्तरिक अभियानका क्रममा झापामा रहेका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले कांग्रेसलाई नै खेदिराखेको अवस्था र पार्टीभित्रका छिद्रलाई सार्वजनिक ठाउँमा देखाउने गलत बानी सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याको पहिचान गर्ने र समाधानका लागि कार्यकर्ताको सुझाव संकलन गर्ने उद्देश्यले कांग्रेसले साउन २० देखि ३० गतेसम्म अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तरगत झापा क्षेत्र नं.–२ क्षेत्र, नगर, वडा तथा जिल्ला सदस्यहरुसंगको छलफलका क्रममा उपस्थित कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अभियानमा झापाका लागि केन्द्रीय प्रतिनिधि तथा एन्चार्ज विश्वकर्माले यस्तो बताउनु भएको हो । राजनीतिक दलले पनि कति बेला के गर्ने हो भन्ने कुरामा सचेत हुनुपर्नेमा जोड दिंदै विश्वकर्माले कुनै बेला नेपाल टेलिकम र एनसेल मोवायलको प्रतिष्पर्धात्मक अवस्था र त्यसमा जनताले पाएको लाभको उदाहरण प्रस्तुत गर्नुभयो । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कार्यकर्ताको कुरा नसुन्ने प्रबृत्ति परिवर्तन हुनुपर्नेमा जोड दिंदै बेरोजगारी लगायत विभिन्न कारणले उत्पन्न फ्रष्ट्रेसनबाट विदेशीन बाध्य युवाका कारण नेपालका ठूला दलहरुलाई चुनौति थपिएको बताउनुभयो । पार्टीभित्र संस्थागत निर्णय भन्दा व्यक्तिगत भनाईको बढी प्रचार हुँदा संस्थागत निर्णय ओझेलमा परेको उल्लेख गर्दै सबैले संस्थागत निर्णयलाई प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले पार्टीको आन्तरिक संरचनामा पदाधिकारीमा पनि महिलालाई अवसर दिनुपर्ने माग गर्नुभयो । निर्वाचनमा समानुपातिकमा भोट नआउनुको कारण पार्टीभित्रैको आन्तरिक कारण भएको बताउँदै आन्तरिक कमीकमजोरीलाई पार्टीले स्विकार गरेर सच्याउन तत्पर हुनुपर्ने उहाँको भनाई थियो । महाधिवेशन प्रतिनिधि सिता पौडेलले पानी सफा हुनका लागि मुहान सङ्लिन जरुरी भएजस्तै पार्टी सङ्लिनका लागि पहिले नेता सच्चिनुपर्ने धारणा राख्नुभयो । महाधिवेशन प्रतिनिधि राधा सुब्बाले बिर्तामोडमा परम्परादेखिकै गुट भन्दा माथि उठ्न नसकेको जनाउँदै ठूला कुरा गर्ने र पार्टीका पक्षमा चर्का नारा लगाउनेहरु नै भोटका दिन कैची लगाउनु पर्छ भन्दै हिड्ने गरेको बताउनुभयो। अघिपछि कांग्रेस भोट हाल्ने दिन कैची देखाउने र तिनै कैची देखाउनेलाई नेतृत्वले सच्चा कार्यकर्ता देख्ने प्रबृत्ति अन्त्य नभएसम्म समस्याको समाधान नहुने सुझाव दिनुभयो । धर्म लक्सम्बाले पार्टीभित्र गुटले समस्या पारेको बताए । पार्टीभित्र आफ्नै आस्थाको फरक मत राख्नेलाई स्वीकार गर्नुभन्दा अन्य पार्टी समर्थितलाई नजिकको ठान्ने प्रबृत्ति हावी भएसम्म पार्टीभित्र सुधार ल्याउन नसकिने बताउनुभयो । चिनीनसक्नुका चरित्र झापा कांग्रेसभित्र देखिएको उहाँको भनाई थियो । देवी घिमिरेले कार्यकर्ता व्यवस्थापनमा नेताले अडान राख्नुपर्ने बताउनु भयो । व्यक्तिपिच्छे बचन दिएर नेताले कार्यकर्तालाई आकांक्षी बनाएकै कारण चुनावमा समस्या देखिने गरेको उल्लेख गर्दै नेताले बचन दिन र कार्यकर्ता व्यवस्थापन गर्न नसकेका कारण चुनावी परिणाम हात नलागेको उहाँको तर्क थियो । पुष्पलाल चौधरीले पार्टीले आदिवासी जनजातिको भोटमात्रै खोजेको आरोप लगाउँदै पार्टीको वडा संरचनामा प्रतिनिधित्व नगराएको भन्दै आपत्ती जनाउनु भयो । मोहन अधिकारीले पार्टीभित्र केटाकेटीपन देखिएको बताउँदै पदीय जिम्मेवारीमा रहेर गुटको बिल्ला भिराउँदै अनावश्यक कुरा भन्ने र सामाजिक सञ्जालमा लेख्ने क्रम अन्त्य गर्ने मेकानिजम तयार गर्न सुझाव दिनुभयो । झापा क्षेत्र नं–२ का उपसभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चन्द्र चुडालले गरर्नुभएको थियो ।
सम्बन्धित खबर