पुष्पलता अर्याल, काठमाडौँ / गोपाल गौरी दिगो विकास प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ।

काठमाडौँ महानगरपालिका–७, चावहिलस्थित एवान पार्टी प्यालेसमा भदौ २० गते शनिबार आयोजित साधारणसभा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा गौतमको अध्यक्षता

तथा प्रतिनिधिसभा सदस्य एवं झापा क्षेत्र नं. २ की सांसद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

साधारणसभाका अवसरमा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा गौतमको जीवन भोगाइ, संघर्ष र सामाजिक यात्रामा आधारित पुस्तक ‘दोसाँधको जिन्दगी’ समेत लोकार्पण गरिएको छ।

१०७ पृष्ठको उक्त पुस्तक घोस्ट राइटिङ नेपाल, लेखन कुञ्ज, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँले प्रकाशन गरेको हो।

पुस्तक सशुल्क रूपमा नेपालभर उपलब्ध हुने बताइएको छ।

पुस्तकमा अध्यक्ष गौतमको व्यक्तिगत जीवनका उतारचढावसँगै संघर्ष, सामाजिक सेवा र समाजप्रतिको योगदानलाई समेटिएको जनाइएको छ।

पुस्तकको सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी लेखक तथा साहित्यकार पुष्पा रेग्मीले पुस्तकका विषयवस्तु र यसको लेखन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।

लेखक तथा साहित्यकार एवं समीक्षक अनिता कोइरालाले पुस्तकको समीक्षा गर्नुभएको थियो।

प्रतिष्ठानका महासचिव गीता न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा

प्रतिष्ठानकी आजीवन सदस्य रोहिता भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सामाजिक योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

सो अवसरमा गोकर्णेश्वर नगरपालिका काठमाडौँका नगर प्रमुख दीपककुमार रिसाल,

लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, शिवसताक्षी नगरपालिकाकी नगर उपप्रमुख नरमाया कार्की

तथा नरहरिनाथ गाउँपालिका, कालिकोटका अध्यक्ष नरेन्द्रबहादुर विष्टलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल,

महिला आधारशीलाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तारा उप्रेती,

चाँगुनारायण नगरपालिका–९ का अध्यक्ष गणेश त्यात,

काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले सामाजिक क्षेत्रमा क्रियाशील संस्थाहरूले राज्यको पहुँच पुग्न नसकेका तथा आर्थिक र सामाजिक रूपमा कमजोर समुदायलाई सहयोग पुर्याउँदै आएको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक सेवासँगै विपद्का समयमा गरिने सहयोग, असहाय तथा विपन्न नागरिकका लागि सञ्चालन गरिने कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।

गोपाल गौरी दिगो विकास प्रतिष्ठान अध्यक्ष इन्दिरा शर्मा गौतमले आफ्नो सम्पत्ति संस्थालाई समर्पण गरेर प्रतिष्ठान स्थापना गर्नुभएको बताइएको छ।

परिवारका अन्य सदस्य कोही पनि जीवित नरहेको अवस्थामा उहाँले विपन्न तथा असहाय नागरिकलाई आफ्नै परिवारका सदस्यसरह मानेर विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको जनाइएको छ।

पूर्वप्रहरीसमेत रहनुभएकी गौतम अमर सहिद परिवारको प्रतिनिधित्व गर्ने समाजसेवी तथा समाज सुधारकका रूपमा समेत परिचित रहेको प्रतिष्ठानले जनाएको छ।

व्यक्तिगत सम्पत्तिलाई सामाजिक सेवामा समर्पण गर्दै विपन्न, असहाय तथा विभिन्न दैवी प्रकोपमा परेका नागरिकका लागि सहयोगका कार्यक्रम सञ्चालन गर्नु प्रतिष्ठानको प्रमुख सामाजिक पहिचानका रूपमा प्रस्तुत गरिएको छ।

साधारणसभामा प्रतिष्ठानको विगतका गतिविधि, सामाजिक सेवा तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमका विषयमा समेत छलफल भएको जनाइएको छ। सभावाट अध्यक्ष साथै कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै बिधान संसोधन लगायतका बिषहरु समेत सर्वसहमत रुपमा निर्णय गरिएको त्यसै गरी लेखा परिक्षण प्रतिवेदन समेत पास गरिएको बताइएको छ ।

संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपन्न, असहाय तथा संकटमा परेका नागरिकका पक्षमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।