झापा / इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ३ का रामकुमार थेगिम (लिम्बु) को झापाको बिर्तामोडमा शंकास्पद परिस्थितिमा भएको मृत्युले यतिबेला इलाका प्रहरी कार्यालय अनारमनीको कार्यशैलीमाथि प्रश्न उठाएको छ। विशेषगरी हराएको व्यक्तिको खोजतलासका लागि निवेदन परेपछि सर्वसाधारणले फेला पारेका एक व्यक्तिलाई प्रहरीले तत्काल उद्धार र उपचारमा कति गम्भीरता देखायो भन्ने विषय अहिले बहसको केन्द्रमा देखिएको छ ।

घटना २०८३ साल जेठ १६ गतेसँग जोडिएको हो । परिवार स्रोतका अनुसार रामकुमार थेगिम उपचारका लागि इलामबाट झापा ल्याइएका थिए। तर जेठ १५ गते बेलुकीदेखि उनी झापाको बिर्तामोड नगरपालिका वडा नं. १ स्थित ग्रिनफिल्ड स्कुल आसपासबाट सम्पर्कविहीन बने। आफन्तहरूले सुरुआतमा आफ्नै स्तरमा खोजतलास गरे। चिनजान, सम्भावित स्थान र आफन्तका सम्पर्कहरूमा खोजी गर्दा पनि उनी नभेटिएपछि अन्ततः जेठ १६ गते दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीमा खोजतलासका लागि निवेदन दर्ता गरिएको परिवारको भनाइ छ।

परिवारका अनुसार दिउँसो करिब १२ देखि १ बजेको बीचमा निवेदन दर्ता भएको थियो। तर त्यसको केही घण्टापछि, बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित महानन्दचोक क्षेत्रमा स्थानीय सर्वसाधारणले हात बाँधिएको अवस्थामा एक व्यक्तिलाई देखे, जो पछि रामकुमार थेगिम भएको खुलेको बताइन्छ। स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

यस घटनाको संवेदनशील पक्ष के हो भने, घटनास्थलमा खिचिएका भनिएका केही भिडियो तथा दृश्य सामग्रीमा थेगिम कमजोर अवस्थामा, शरीरमा चोटपटकजस्तो देखिने संकेत, हातमा र भेष्टमा रगत लागेको अवस्थामा देखिएको दाबी गरिएको छ। भिडियोमा उनी आफ्नो नाम र ठेगाना भन्न सक्ने अवस्थामा रहेको समेत भिडियो बाट प्रष्ट हुन्छ।

यहीँबाट प्रश्न उठ्न थालेका छन्। यदि हराएको व्यक्तिको निवेदन प्रहरी कार्यालयमा दर्ता भइसकेको थियो, र केही घण्टापछि सार्वजनिक स्थलमा घाइते वा अस्वस्थ देखिने व्यक्तिलाई प्रहरीकै उपस्थितिमा फेला पारिएको थियो भने—के तत्काल अस्पताल पु¥याएर स्वास्थ्य परीक्षण गराउनु आवश्यक थिएन ? के निवेदन दिने आफन्तसँग तत्काल समन्वय गर्न सकिने थिएन ?

मृतककी बहिनी, जो हाल विदेशमा रहेको बताइन्छ, उनले समयमै उद्धार र उपचार भएको भए दाई जीवित रहन सक्ने गुनासो सार्वजनिक रूपमा गरिरहेकी छन्। यद्यपि यसबारे प्रहरी प्रशासनको आधिकारिक धारणा सार्वजनिक रूपमा विस्तृत आएको देखिएको छैन।

घटनाले अर्को कारणले पनि चर्चा पाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीमा हालै सरुवा भई आएका डीएसपी सन्तोष पाठकले सार्वजनिक कार्यक्रममा “काम गर्न आएको हुँ, काम दिनुस” भन्ने अभिव्यक्ति दिएका थिए। स्पा तथा मसाज सेन्टरमा छापा मारेर सक्रिय सुरुवात गरेको सन्देश दिएका पाठकको नेतृत्वमा रहेको प्रहरी कार्यालयको जिम्मेवारीभित्रै भएको यो घटनाले नागरिक तहमा नयाँ प्रश्न जन्माएको छ—सडकमा संकटमा भेटिएको नागरिकको उद्धारभन्दा ठूला ‘एक्सन’ प्राथमिक हुन् कि मानवीय संवेदनशीलता ?
हाम्रो समाजमा कहिलेकाहीँ हराएको व्यक्तिलाई प्रहरीभन्दा पहिले सर्वसाधारणले भेट्छन्, घाइतेलाई अस्पतालभन्दा पहिले मोबाइल क्यामेराले कैद गर्छ, अनि घटना गम्भीर भएपछि मात्रै राज्य सक्रिय देखिन्छ। नागरिकले कर तिर्छन् सुरक्षाका लागि, तर संकटको क्षणमा कसको जिम्मेवारी कहाँबाट सुरु हुन्छ भन्ने प्रश्न भने अझै खुला रहन्छ।
रामकुमार थेगिमको मृत्युको वास्तविक कारण अनुसन्धानबाटै स्पष्ट हुनुपर्ने विषय हो। तर यो घटनाले कम्तीमा एउटा प्रश्न भने बलियोसँग उठाएको छ—हराएको नागरिक भेटिएपछि राज्यको पहिलो जिम्मेवारी जहाँको त्यहिँ छाड्नु हो कि ज्यान जोगाउनु ?
किनकि यदि संकटमा परेको एउटा नागरिकलाई समयमै उपचार, संरक्षण वा पारिवारिक सम्पर्कमा ल्याउने काम हुन सकेन भने “सेवा, सुरक्षा र संरक्षण” भन्ने शब्द नारामा मात्र सीमित भएको टिप्पणीबाट प्रहरी प्रशासन उम्कन कठिन हुन सक्छ ।