बुधवार, माघ २२, २०८२
Sancharmanch

टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सव भव्य रूपमा उध्घाटन, खेलकुद र सांस्कृतिक प्रतियोगिता सुरू

Posted by:
सोमवार, माघ २०, २०८२
झापा / बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको टावर टेम्पल स्कुलले आफ्नो २९औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच भव्य रूपमा सुरु भएकोछ। सोमबार विद्यालय परिसरमा आयोजित विशेष समारोहका साथ वार्षिकोत्सव मनाइनुका साथै आजबाट खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू पनि औपचारिक रूपमा सुरू भएका छन् । कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गनुहुँदै अधिकृत तामाङले बिद्यार्थिको आधार तय हुने विद्यालयमा आयोजना गरेको विभिन्न कार्यक्रम र खेलकुद प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । मन्तव्यसहित विद्यालयको समग्र शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी अवस्थाबारे विद्यालयका प्रिन्सिपल तेजप्रसाद भट्टराईले प्रकाश पार्नुभएको थियो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यमान्यतामा आधारित शिक्षण पद्धतिलाई प्राथमिकता दिएको बताउनुभयो । विद्यालयका निर्देशक राजीब धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९ कि छात्रा मन्सुन भण्डारीले स्वागत गर्नुभएको थियो । २०५३ सालमा स्थापना भएको टावर टेम्पल स्कुल हाल यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित भइसकेको छ। विद्यालयमा २०८१ सालदेखि राष्ट्र सेवा दल (एनसिसी) कार्यक्रम पनि सञ्चालनमा आएको छ, जसले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र राष्ट्रप्रेमको भावना विकास गर्न सहयोगपुर्याइरहेको विद्यालय प्रशासनले जनाएको छ । त्यस्तै २०७९ सालदेखि ‘इम्प्यानल स्कुल’ पनि सञ्चालनमा आएको बताइएको छ । विद्यालयमा बहालवाला तथा अवकाशप्राप्त नेपाली सैनिकका सन्ततीहरूले अध्ययन गरिरहेका छन् । विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिँदै आएको छ, जसको झल्को वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्यहरूले प्रष्ट पारेका थिए । विभिन्न जातीय तथा सांस्कृतिक पहिचान झल्काउने नृत्यहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो । समारोहमा अरनिको गण चारआलीका सेनानी प्रवेश खड्का, सहायक सेनानी भीमप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, वीरता जेसीजका अध्यक्ष एलसी श्रेष्ठ, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, झापा जिल्ला औषधि व्यवसायी संघका अध्यक्ष जीवन खड्का, लोत्से इङ्लिस स्कुलका धनराज मगर, सुनिता तामाङलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। वार्षिकोत्सवअन्तर्गत आजबाट सुरु भएको अन्तरसदन खेलकुद प्रतियोगितामा कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि फुटबल र बास्केटबल, कक्षा ६ देखि १० सम्मका छात्र–छात्राका लागि भलिबल तथा टेबलटेनिस लगायतका खेलहरू सञ्चालन हुने विद्यालयले जनाएको छ । त्यस्तै साना कक्षाका विद्यार्थीहरूका लागि चकलेट रेस, बेलुन फुटाई, सट रेस जस्ता रमाइला खेलहरू आयोजना गरिएका छन् भने सिनियर तहका लागि फुटसल प्रतियोगिता पनि समावेश गरिएको छ । सांस्कृतिक प्रतियोगिताहरू पनि समानान्तर रूपमा सञ्चालन भइरहेका छन्। खेलकुद प्रतियोगिताहरू माघ २३ गते समापन हुने जनाइएको छ । उद्घाटन समारोहलाई थप मनोरञ्जनात्मक बनाउन अभिभावकहरूका लागि समेत विशेष प्रतियोगिताहरू आयोजना गरिएको थियो। महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरूका लागि हण्डी फुटाउने प्रतियोगिताले कार्यक्रम स्थलमा उत्साह र रमाइलो वातावरण सिर्जना गरेको थियो। अभिभावकहरूको सक्रिय सहभागिताले विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ भएको आयोजकहरूले बताएका छन्। कार्यक्रमको सञ्चालन शिक्षकद्वय यमनाथ घिमिरे र नीता घिमिरेले गर्नुभएको थियो। समग्रमा, टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सवले विद्यालयको शैक्षिक प्रगति, अनुशासन, सांस्कृतिक विविधता र खेलकुद गतिविधिप्रतिको प्रतिबद्धतालाई उजागर गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
सम्बन्धित खबर