शुक्रवार, साउन २२, २०८३
Sancharmanch

ह्वाइटहाउस कलेज बिर्तामोडद्वारा ‘रन फेस्ट’ र राष्ट्रियस्तरको ‘ह्याकाथन’ आयोजना, उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्तिको अवसर

Posted by:
शुक्रवार, साउन २२, २०८३
बिर्तामोड, झापा/ सूचना प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई प्राथमिकतामा राख्दै ह्वाइटहाउस एजुकेसन फाउण्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी, बिर्तामोडले ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ तथा राष्ट्रियस्तरको ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) कार्यक्रमको अध्यापन सुरु भएसँगै कलेजले विद्यार्थीमा प्रविधिमैत्री सोच, अनुसन्धान, नेतृत्व र नवप्रवर्तनको संस्कार विकास गर्ने उद्देश्यले यी कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमबारे जानकारी दिन शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका अध्यक्ष युवराज शर्माले विगत तीन दशकदेखि फाउण्डेसनले नेपालको शिक्षाक्षेत्रमा गुणस्तरीय, व्यावहारिक तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै अब पूर्वी नेपालका विद्यार्थीलाई पनि सोही स्तरको अवसर उपलब्ध गराउने लक्ष्यसहित बिर्तामोडमा कलेज सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले आधुनिक शिक्षाले केवल डिग्री प्रदान गर्ने मात्र नभई विद्यार्थीलाई सीप, नेतृत्व क्षमता, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता भविष्यका आवश्यक क्षेत्रमा सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। यही अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले कलेजले शैक्षिक कार्यक्रमसँगै सिर्जनात्मक र व्यावहारिक गतिविधिलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो। अध्यक्ष शर्माले सूचना प्रविधिको तीव्र विकाससँगै विश्वव्यापी प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई सक्षम बनाउने वातावरण तयार गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै ह्वाइटहाउस कलेजले पूर्वी नेपाललाई प्रविधि शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो। यसैक्रममा स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार बिहान ५ः३० बजे ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ आयोजना गरिने भएको छ। रन फेस्टमा बिर्तामोड तथा आसपासका विद्यार्थी, अभिभावक, युवा, खेलप्रेमी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। ह्वाइटहाउस रन फेस्टका संयोजक तथा बिर्तामोड रन क्लबका अध्यक्ष आयुष अग्रवालले शिक्षासँगै खेलकुद र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्न रन फेस्ट आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार नियमित दौडले शारीरिक स्वास्थ्यका साथै मानसिक सन्तुलन, अनुशासन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको छ। त्यसैगरी, कलेजमा तीन दिनदेखि सञ्चालन भइरहेको राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगितामा देशभरका विभिन्न विद्यालय तथा कलेजका १४० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। कलेजका प्रिन्सिपल रञ्जित साहका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सूचना प्रविधिमा आधारित नवीन अवधारणा, समस्या समाधानका प्रविधि तथा सिर्जनात्मक परियोजनामार्फत आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार तथा द्वितीय टोलीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगितामा सहभागी सबै टोलीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइनेछ। ह्याकाथनको अर्को विशेष आकर्षणका रूपमा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे बीआईटी तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ। यसले प्रतिभावान विद्यार्थीलाई उच्च शिक्षासम्म पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै पूर्वी नेपालका विद्यार्थीलाई गुणस्तरीय प्रविधि शिक्षा, अनुसन्धान र नवप्रवर्तनको अवसर उपलब्ध गराउने दिशामा ह्वाइटहाउस कलेज प्रतिबद्ध रहेको कलेजका प्रिन्सिपल रञ्जित साहले जानकारी दिनुभयो। उनीहरूले शैक्षिक गतिविधिलाई केवल कक्षाकोठामा सीमित नराखी खेलकुद, अनुसन्धान, प्रविधि तथा सिर्जनात्मक प्रतिस्पर्धामार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिइने जानकारी दिए । कलेजका अनुसार आगामी दिनमा पनि सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, उद्यमशीलता, अनुसन्धान तथा नेतृत्व विकाससँग सम्बन्धित यस्ता राष्ट्रियस्तरका कार्यक्रमलाई निरन्तरता दिँदै पूर्वी नेपाललाई आधुनिक प्रविधि शिक्षाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
सम्बन्धित खबर