झापा / श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै झापा जिल्लाका विभिन्न पालिकाहरूमा समिति गठनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। पार्टीले स्थानीय तहसम्म आफ्नो सांगठनिक आधार मजबुत बनाउने लक्ष्यअनुसार पालिका स्तरीय ऐतिहासिक सम्मेलनहरूको आयोजना गर्दै समिति गठन प्रक्रिया अघि बढाएको हो।

यसैक्रममा शनिबार झापाको भद्रपुर नगरपालिकामा श्रम संस्कृति पार्टीको नगर समिति गठन गरिएको छ। जसमा अध्यक्ष, दिपक तिम्सिना, उपाध्यक्ष राजु बराल, ज्योति राई, नरदिप लिम्बु, सचिव मगेन्द्र लिम्बु, सह सचिव बली बहादुर अधिकारी, कोषध्यक्ष कविता राई, सदस्य बासमिता लिम्बु, जयप्रकाश पनेरु, विवेक लिम्बु, राजन लावुङ, गल बहादुर लिम्बु, सोमराज गुरुङ, पुष्पा लिम्बु, नरमाया राई, केशव खतिवडा, पूर्णिमा राई, गोपाल कार्की, सञ्जिव लिम्बु, सुजाता राई, मिना कोइराला रहेको झापा जिल्ला अध्यक्ष केशव भण्डारीले सञ्चारमञ्चलाई जानकारी दिनुभयो । केन्द्रिय कोषाध्यक्ष समीता राईको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य हिमाल प्रकाश कन्दङ्वा, श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारीलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन झापा जिल्ला सचिव सिवन सोरालीले गर्नुभएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय कोषाध्यक्ष राईले श्रम, उत्पादन र स्वाभिमानलाई पार्टीको मूल आधारका रूपमा अघि बढाइएको बताउँदै श्रमिक, किसान र उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न श्रम संस्कृति पार्टी प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले परम्परागत राजनीतिक दलहरूबाट जनताको अपेक्षा पूरा हुन नसकेको वर्तमान अवस्थालाई परिवर्तन गर्न वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्ने अन्य नेताहरूले संगठन विस्तारसँगै जनजीविकासँग प्रत्यक्ष जोडिने कार्यक्रमहरू सञ्चालन गरिने बताए। स्थानीय तहमा पार्टीको उपस्थितिले राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै श्रममुखी नीतिहरूको वकालत गर्ने विश्वास व्यक्त गरिएको थियो।
यसैबीच, श्रम संस्कृति पार्टीले झापाकै अर्को पालिका हल्दिवारीमा समेत पार्टी समिति गठन गरिसकेको जानकारी दिएको छ। जिल्लाका विभिन्न पालिकामा पार्टीको संगठन विस्तार तीव्र बन्दै गएको भन्दै नेतृत्वले आगामी दिनमा थप पालिकाहरूमा सम्मेलन र समिति गठन गरिने जनाएको छ।
झापा जिल्लामा श्रम संस्कृति पार्टीले आफ्नो संगठन क्रमशः बलियो बनाउँदै लैजाँदा पुराना भनिएका राजनीतिक दलहरूलाई प्रभावकारी चुनौती दिने देखिएको छ। स्थानीय तहबाटै संगठन सुदृढ बनाउने रणनीतिले पार्टीको गतिविधि झापामा थप सक्रिय बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।










